राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले अब नागरिक समाजले भ्रष्टाचार विरूद्धको अभियानलाई शसक्त ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् ।

असोज ३ गते पोखरामा सम्पन्न शान्तिका लागि नागरिक समाजको सञ्जालको साधारणसभा तथा नेपालको संविधान कार्यान्वयन, अवसर र चुनौती विषयक अर्न्तक्रिया कार्यक्रममा बोल्दै पौड्यालले गणतन्त्र स्थापनापछि राजनीतिक दलले अधिकारकर्मीलाई उपेक्षा गरेको भन्दै दुखः समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पश्चिम क्षेत्रका उपक्षेत्रीय प्रशासक झलकराम सुवेदीले नागरिक समाजले संविधान कार्यान्वयनको लागि सरकारलाई झक्झक्याउन आवश्यक रहेको बताउँदै कानुनको अभावमा नागरिक मौलिक हक उपभोग गर्नबाट वञ्चित हुन नहुने बताए ।

जिल्ला विकास समितिका अध्यक्ष बैनबहादुर क्षेत्रीले शान्ति स्थापनाको लागि सञ्जालले अहम् भूमिका खेलेको बताउँदै किताबमा लेखिएका कुराले मात्र अधिकार प्राप्त नहुने हुँदा अब सबै मिलेर समृद्धिको आन्दोलन थाल्नुपर्ने बताए ।
प्राध्यापक डाक्टर विश्वकल्याण पराजुलीले नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्था र राजनीतिक दलको सहकार्यको आन्दोलनले मात्र जनताले अधिकार प्राप्त हुने विचार राखे ।
सो कार्यक्रममा मानव अधिकारको क्षेत्रमा क्रियाशील तीन जना अधिकारकर्मीलाई सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ मानव अधिकारकर्मी एवम् इन्सेकका साधारण सदस्य टेकनाथ बराल, शान्तिका लागि नागरिक समाजको सञ्जालका संस्थापक अध्यक्ष एवम् इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापा र सञ्जालका पूर्व संयोजक एवम् इन्सेकका साधारण सदस्य नवदत ढुङ्गानालाई सम्मान गरिएको हो ।