INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्तिहरूको लागि निर्माण गरिएको ऐन कार्यान्वयन गर्न माग

अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियान तनहुँले अपाङ्गता भएका व्यक्तिहरूको लागि निर्माण गरिएको ऐन कार्यान्वयन गर्न माग गरेको छ ।

अभियान तनहुँले ०८१ जेठ २ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र पठाउँदै अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन र नियमावलीको अक्षरसः कार्यान्वयन गर्न माग गरेको हो ।

तनहुँ जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको साझा मञ्चको रुपमा रहेको अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्तता अभियानले पहुँचयुक्तता, जनचेतना, पैरवी तथा सहजिकरण मार्फत अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकारका निम्ति विभिन्न कार्यहरु गर्दै आइरहेको ज्ञापनपत्रमा जनाइएको छ ।

म्याग्दे गाउँपालिका– ७ निवासी पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीले गत चैत ६ गते देखी १४ गते सम्म अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली २०७७ को नियम ९ मा उल्लेखित सामुदायिक सेवा अन्तर्गत व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराई पाउँ भनी काठमाडौंको रत्नपार्क स्थित शान्ति बाटिकामा धर्ना बस्नुभएको थियो । धर्नाको क्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भण्डारीसँग माग अनुसारको सेवा तत्काल प्रदान गर्ने गरी तीन बुँदे सम्झौता गरेको थियो । तर तोकिएको समयमा उक्त सम्झौता कार्यान्वयन नभएपछि भण्डारी वैशाख १८ गते देखी काठमाडौंको शान्ति बाटिकामा अनिश्चितकालिन अनसनमा हुनुहन्छ । उहाँको अनसन र जायज माग प्रति पहुँचयुक्तता अभियान, तनहुँको गम्भीर ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

भण्डारी यस अघि पटक पटक गाउँपालिका परिसरमा अनसनमा बस्नुभएको थियो । सो क्रममा गाउँपालिका र उहाँको बिचमा पनि पटक पटक सम्झौता भएको थियो । यसै क्रममा २०८० साउन महिनामा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले व्यक्तिगत सहयोगी सेवा प्रदान गर्ने सम्बन्धि कार्यविधिको मस्यौदा निर्माण गरी म्याग्दे गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । तर उक्त मस्यौदालाई गाउँपालिकाले फालेर अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई कुण्ठित गरेको आरोप ध्यानाकर्षणपत्रमा लगाइएको छ ।

व्यक्तिगत सहयोगी सेवा पूर्ण अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको निम्ति अति आवश्यक आधारभूत सेवा भएको हुँदा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ (पहिलो संशोधन २०७५) तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७ नियम १ मा भएको उन्नत व्यवस्था तत्काल कार्यान्वयनको निम्ति सरकारसँग माग गरिएको अभियानका संयोजक मदन पौडेलले बताउनुभयो ।

भण्डारीको जारी अनसन र अपाङ्गता भएका व्यक्तिहरुको जारी आन्दोलनप्रति तनहुँवासी सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको तर्फबाट पूर्ण ऐक्यवद्धता जनाउँदै अनिश्चितकालिन अनसनमा बसेका दिपक भण्डारीको जीवन रक्षा गर्दै जारी आन्दोलनलाई अविलम्ब उचित निकास दिनका लागी आवश्यक समन्वयका निमित्त अभियानले सरकारसँग अनुरोध गरेको छ ।

साथै कानुन बनाएर कार्यान्वयन नगर्ने हुँदा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र नियमावली किन चाहिने भन्दै उक्त ऐन र नियमावली जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई नै फिर्ता समेत पठाइएको अभियानका संयोजक पौडेलले जानकारी दिनुभयो ।

photo 081-2-4 tanahun

अन्य

भिडियो