सुस्ता गाउँपालिका-३, मर्चहवाका काका ५१ वर्षीय तिलकधारी चमारलाई कुटपिट गरी हत्या गरेको आरोपमा २७ वर्षीय सन्तराम चमारलाई प्रहरीले ०८१ जेठ ३ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्यामप्रकाश यादवका अनुसार काकालाई आरोपितले जेठ १ गते सामान्य घरायसी विवाद हुँदा दाउरा प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते हुनुभएको थियो । उक्त कुटपिटबाट गम्भीर घाइते काकाको उपचारको क्रममा पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।
शवको पोष्टमार्टम जेठ २ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरी परिवारको जिम्मा लगाएको थियो । आफूहरूले शव बुझी सोही दिन सद्गत गरेको मृतकका भाइ पतिराम चमारले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित पक्षले जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर यादवले बताउनु भयो ।