INSEC Online

📅 २०८३ जेष्ठ २१

जिसस गुल्मीका लेखापाल श्रेष्ठलाई मोसो दलेर दुर्व्यवहार

जिल्ला समन्वय समिति गुल्मीका लेखापाल प्रेमलाल भण्डारीलाई जिल्ला जनपरिषद जनसत्ता गुल्मीका नाममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असोज १ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । पीडितलाई दिउँसो ४ बजेतिर कार्यालयको कायकक्षमा पुगेर लेखापाल भण्डारीलाई मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षले जनाएको छ ।

आफूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ता बताउने तीन जनाले एक्कासी मोसो दलेको पीडित भण्डारीले बताए । ‘कार्यालय बन्द हुने समयमा हामीहरूलाई सहयोग नगर्ने ‘तँ’ हैनस् भन्दै समातेर मोसो दले ।’-उनले भने,’ तत्काल भागेकाले चिन्न सकिएन ।’

उनीहरूले पीडित भण्डारीलाई कार्यालय प्रमुखलाई प्रभावमा पारी जिससको श्रोत साधनमाथि अनियमितता गरेको, योजनाको रकम भुक्तानी गर्दा उपभोक्ताहरूसँग कमिशन मागेको, कर्मचारीहरूको सञ्चयकोषको रकम जम्मा नगरेर आफूले अपचलन गरेको आरोप लगाएका छन् ।

साथै उनीहरूले परिवारको नाममा फर्म दर्ता गरेर जिसस अर्न्तगतका ठेक्काहरूबाट कमिशन खाने गरेको, राजनीतिक शक्तिको आवरणमा कार्यालयमा दादागिरी गरेको र भष्टाचार गरी अकुत सम्पति आर्जन गरेको भन्दै मोसो दलेको सो सङ्गठनका जनसत्ता उपप्रमुख राम बलाल बताए ।

उनीहरूले भण्डारीलाई कारबाही किन ? भन्ने पर्चासमेत छोडेर गएका छन् । प्रहरीले मोसो दलेर दुर्व्यावहार गर्नेहरूको पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गङ्गा थापाले बताए ।

अन्य

भिडियो