१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दङ्गीशरण गाउँपालिका-६ का २२ वर्षीय विजय विकलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश ताराकुमार शर्माको ०८१ वैशाख २७ गतेको इजलासले कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, १ लाख रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने र ७ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित बालिकालाई विकले ०८० माघ १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । विकलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ २ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भएको थियो ।