INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपितविरुद्ध उजुरी

Photo 20240509 Saptariराजविराज नगरपालिका-१ की ७५ वर्षीया सकिना मियाइनीलाई सोही ठाउँका ५४ वर्षीय तफेजुल महम्मदलगायत १० जनाले कुटपिट गरी हत्या गरेको भन्दै मृतककी बुहारी ५२ वर्षीया नजमुन खातुनले जिल्ला प्रहरी कार्यालयमा ०८१ वैशाख २६ गते उजुरी दिनुभएको छ ।

आरोपितहरू तफेजुल मियाँसहित उहाँका छोरा २३ वर्षीय समिद, ५५ वर्षीय सदरुल, ४८ वर्षीय इलियास, ५० वर्षीय तजमुल, ५८ वर्षीय मो. तजमुल, ६८ वर्षीय इमामुदिन, उहाँका छोरा ३० वर्षीय नइम, ४९ वर्षीय मजिद, २५ वर्षीय इरसाद र ४८ वर्षीय जैनुलले गरेको कुटपिटबाट घाइते मियाइनीको वैशाख २४ गते मृत्यु भएको नजमुनले बताउनु भयो । मियाइनीको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएपछि सोही अस्पतालमा वैशाख २५ गते पोष्टमार्टम भएको अस्पतालले जनाएको छ ।

राजविराज नगरपालिका-१ स्थित सडकको पूर्व बाँसको चचरीमा बसेर लुडो खेलिरहेका सोही ठाउँका २२ वर्षीय जैउद्दिन, २६ वर्षीय शेराज, २४ वर्षीय रहिम र सफिद रहमानलाई वैशाख २ गते घेरा हाली कुटपिट गरेर रक्ताम्य बनाएको देखी मियाइनीले रोक्न खोज्दा आरोपितहरूले उहाँलाई समेत निर्घात कुटपिट गरेको मियाइनीका नाती शेराजले इन्सेक सप्तरी प्रतिनिधिको कार्यालयमा आएर बताउनु भयो । आरोपितहरूको घरमाथि छतमा जम्मा गरेको ढुंगामुढा, पत्थरले प्रहार गरेपछि हातहातमा लाठी, फट्टा, रड लिएर आएका आरोपितहरूले कुटपिट गरेको शेराजले बताउनु भयो । घटनामा घाइते शेराज, रहिम र जैउद्दिनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भयो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रमोद खडकाका अनुसार घटनाबारे जानकारी पाएर जिल्ला प्रहरी कार्यालयबाट टोली पुग्नासाथ आरोपितहरू फरार भएका थिए ।

घटनामा आरोपितहरू तर्फ राजविराज नगरपालिका-१ का ६५ वर्षीय जमाल, ५४ वर्षीय तफेजुल, ५० वर्षीय तजमुल र उहाँकी पत्नी ४८ वर्षीया सगिरा खातुन घाइते भएको नइमले बताउनु भयो । घाइते जमाल र तफेजुलको छिन्नमस्ता अस्पताल राजविराज तथा तजमुल र सगिराको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भयो । आरोपितहरूले समेत ज्यान मार्ने उद्योगमा उजुरी दिएको बताएका छन् ।

अन्य

भिडियो