INSEC Online

📅 २०८३ जेष्ठ २१

सुधार केन्द्रमा राखिएका एक जनाकाे मृत्यु, घटनाका आरोपित गिरफ्तार

घोडाघोडी नगरपालिका–४ भालुफाँटास्थित नयाँबाटो पुनर्स्थापना सुधार केन्द्रमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २३ वर्षीय सुनिल शाहीको ०८१ वैशाख २६ गते मृत्यु भएपछि घटनामा संलग्न भएको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–१ सुखडका होम तामाङ सहित नौ जनालाई गिरफ्तार गरेको छ ।

लागु औषध प्रयोग गर्दै आएका शाहीलाई ०८० पुस महिनादेखि सुधार केन्द्रमा राखिएको अवस्थामा शाहीले सुधार केन्द्र भवनको छतबाट वैशाख २६ गते बिहान हामफालेर गम्भीर घाइते भएपछि घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय, सुखडका डिएसपी दिप्रेन्द्रकुमार पालले बताउनु भयो ।

गम्भीर घाइते भएका शाहीको निधार, गर्धन, कम्मर, खुट्टा, टाउको, शरीरको पछाडीको भाग र दुवै हातमा चोट लागेको देखिएकोले घटनामा संलग्न भएको आशंकामा सुधार केन्द्र सञ्चालक होम तामाङ सहित नौ जनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी पालले बताउनु भयो ।

सुधार केन्द्रमा राखिएका शाहीलाई २५ दिनदेखि भेटघाट गर्न नदिएको र शवको प्रकृति हेर्दा निर्घात रुपमा कुटपिट गरी हत्या नै गरेको पीडितका बुबा धनराज शाहीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटना शंकास्पद देखिएकोले प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित अन्य व्यक्तिलाई समेत गिरफ्तार गरी अनुसन्धान गरिरहेको र आफूहरुले पनि किटानी जाहेरी दिने तयारी गरिरहेको पीडितका बुबा शाहीको भनाइ छ ।

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा ल्याउने तयारी भइरहेको र गिरफ्तार गरिएका अन्य व्यक्तिहरुसँग सोधपुछ भइरहेकोले हाललाई उहाँहरुको नाम सार्वजनिक गर्न नसकिने इलाका प्रहरी कार्यालय, सुखडका इन्स्पेक्टर दिर्घबहादुर साउदले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

photo20240508kailali (1)

photo20240508kailali (3)

अन्य

भिडियो