INSEC Online

📅 २०८३ जेष्ठ २१

सदरमुकाम खलङ्गा‍मा खानेपानीको अभाव

जिल्ला सदरमुकाम खलङ्गामा एक महिनादेखि खानेपानीको अभाव भएको छ । मुसीकोट खानेपानीे उपभोक्ता तथा सरसफाइ समितिले पाँच ओटा मुहानको पानी वितरण गर्दै आएको छ । पानाखोला, घिउखोला, टिम्मुरखोला, लहाराभिजाउने र सिदुरीखोला खानेपानीको मुख्य मुहानका स्रोत हुन् ।

पानाखोला र घिउखोला मुहानको पानी खलङ्गा बजार र शेरीगाउँमा वितरण हुँदै आएको छ भने  टिम्मुरखोलाको पानी सल्ले बजारमा वितरण भइरहेको भए पनि त्यो मुहानको पानी वैशाख र जेठ महिनामा अपुग हुने गरेकोले खानेपानीको अभाव भएको मुसीकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर नेपालीले जानकारी दिनुभयो ।

टिम्मुरखोलाको पानी सल्ले बजारमा मात्र वितरण गर्ने गरिएको भए पनि खलङ्गा बजारमा खानेपानीको समस्या हुने भएकाले त्यो मुहानको पानी पनि खलङ्गामा वितरण गर्ने गरिएको अध्यक्ष नेपालीले बताउनुभयो । घिउखोलामा  ३ लाख ५० हजार लिटरको ट्याङ्की भए पनि त्यो ट्याङकीमा पानी कम  हुने भएपछि टिम्मुरखोला मुहानको पानी पनि घिउखोलाको ट्याङ्कीबाट वितरण गर्ने गरिएको उहाँले बताउनु भयो ।

मुसिकोट नगरपालिकाको खलङ्गा बजार, पातुखोला, बागबजार, शेरीगाउँ, सल्ले लगायत ठाउँमा अहिले खानेपानीको समस्या बढ्दै गएको छ । ‘सदरमुकामका विभिन्न ठाउँमा खानेपानीको समस्या बढ्दै गएको छ, खानेपानी पुर्याउने कोसिस भइरहेको छ , तर मुहान सुकेकै कारण पानी आपूर्ति सहज हुन सकेको छैन ।’ अध्यक्ष नेपालीले भन्नुभयो ।

मुसिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लहरा भिजाउने र सिदुरीखोलाको पानी बागबजार र शेरीगाउँमा वितरणको तयारी थालेको छ । रावलवारामा पानी ट्याङकी निर्माण गरेर बागबजार र शेरीगाउँमा पानी वितरण गरिए खलङ्गा बजारमा खानेपानीको आपूर्ति सहज हुने समितिले जनाएको छ ।

उपभोक्ता भने खानेपानीको समस्या भएपछि आक्रोश पोखिरहेका छन् । बिहान र बेलुका थोरै समय धारामा पानी आउने गरेको स्थानीय टिकाराम देवकोटाले जानकारी दिनुभयो । ‘खानेपानीको समस्या देखिएको छ, बिहान र बेलुका धारामा नियमित पानी आउने गरेको भए पनि एक महिनादेखि पर्याप्त मात्रामा पानी आउदैन ।’ उहाँले भन्नु भयो ।

एक दिनको फरकमा धारामा पानी आउने गरेको स्थानीय देवबहादुर ओलीको भनाइ छ । बजार क्षेत्रमा खानेपानीको निकै समस्या भएको छ । सरोकारवाला निकायले पनि चासो नदिएको जस्तो देखिन्छ । यो वर्ष मात्र होइन हरेक वर्ष सुक्खा खडेरीमा खानेपानीको समस्या हुने गरेको उहाँले बताउनु भयाे ।

खलङ्गाबजार बासीले सहिदमैदानमा रहेको मुहानबाट पानी ल्याएर प्रयोग गर्ने गरेका छन् । पर्याप्त पानी आपूर्ति नहुँदा होटल व्यवसाय गर्नेहरु बढि मारमा परेका छन् ।

 

अन्य

भिडियो