INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिका र २२ वर्षीया युवती समेत दुई जना छात्राहरूलाई वीरगंज महानगरपालिका-१९, बिन्दवासिनी घर भएका वीरगंजस्थित नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ३० वर्षीय अगन्ध चौरसियाले यौन दुर्व्यवहार गरेको भन्दै पीडितहरूले ०८१ वैशाख २३ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिनु भएको छ ।

आकस्मिक कक्षमा कार्यरत आरोपितले लामो समयदेखि  ओ.जे.टी. मा आउने छात्राहरूलाई विभिन्न किसिमको प्रलोभन तथा धाकधम्की दिइ अनैतिक क्रियाकलाप गर्न दबाब दिँदै आएको पीडितहरूको आरोप रहेको छ । त्यस्तै, विभिन्न शैक्षिक संस्थाबाट  ओ.जे.टी. का रूपमा आउने छात्राहरूलाई चौरसियाले आफूले भने जस्तो नगरे राम्रो अङ्क नदिने भनी धम्की समेत दिने गरेको उहाँहरूको आरोप रहेको छ ।

प्रहरीले आफूहरूलाई सहयोग नगरेको छात्राहरूले बताउनु भयो । पीडितहरूले भन्नु भयो- ‘दोषीलाई कारबाहीको सट्टा हामीलाई अनावश्यक प्रश्नहरू गर्दै मिलापत्रको लागि प्रहरीले दबाब दिइरहेको छ’ ।

तर, पीडितहरूले दिएको उजुरीको आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिनु भयो ।

त्यसैगरी, कार्य क्षेत्रभित्र भएको यौन दुर्व्यवहार घटनाको मुद्दा प्रहरीले हेर्न नमिल्ने भन्दै गिरफ्तार गरिएका आरोपितलाई वैशाख २४ गते रिहा गरेको डिएसपी थापाले बताउनु भयो । कार्य क्षेत्रमा भएको यौन दुर्व्यवहारको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने अधिकार रहेको डिएसपी थापाले जानकारी दिनुहुँदै पीडितले सिधै अदालत जान मिल्ने पनि उहाँले बताउनु भयो ।

अन्य

भिडियो