दिन प्रतिदिन आगलागीका घटना बढ्दै जाँदा लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरूमा जनधनको क्षति भएको छ ।
प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार गर्मीयाम बढेसँगै जिल्लामा ७७ ओटा आगलागीका घटनाहरू बृद्धि हुँदा विभिन्न स्थानीय तहहरूमा ४४ घरहरू पूर्ण र दुई ओटा आंशिक क्षति भएको छ । साथै आगलागीबाट ७१ गोठ पूर्ण र दुई आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर हुमानन्द खनालले बताउनु भयो । आगलागीबाट करोडौँ रुपियाँको भौतिक क्षति भएको उहाँले उल्लेख गर्नुभयो ।
जिल्लाका नौ ओटा स्थानीय तहमध्ये प्यूठान नगरपालिकामा १८ घर र २० गोठ, स्वर्गद्वारी नगरपालिकामा ६ घर र १४ गोठ, सरुमारानी गाउँपालिकामा एक गोठ, माण्डवी गाउँपालिकामा १३ घर र २० गोठ, ऐरावती गाउँपालिकामा तीन घर र चार गोठ, नौवहिनी गाउँपालिकामा एक घर र दुई गोठ, मल्लरानी गाउँपालिकामा एक गोठ, झिमरुक गाउँपालिकामा तीन घर र आठ गोठ र गौमुखी गाउँपालिकामा दुई घर र तीन गोठमा क्षति भएको छ ।
आगलागीबाट खानेपानीका पाइहरूमा क्षति पुगी स्थानीयहरूले स्थानीय खोला र कुवाको पानी खान बाध्य भएका छन । स्थानीय तहले पाइपको व्यवस्था गरी खानेपानीको व्यवस्था गर्न लागेको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले बताउनु भयो । आगलागीबाट क्षति भएका घरका सदस्यहरू अहिले आफन्त र छिमेकीको घरमा बस्दै आएको र उनीहरूलाई तत्कालका लागि सामान्य राहतको व्यवस्था गरिएको साथै पुर्नवास तथा पुननिमार्णका लागि स्थानीय तहको बैठक बसी राहतका कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष रानाले जानकारी दिनुभयो । आगलागीका घटनाले धेरै खानेपानीको पाइपमा क्षति पुग्दा नागरिकरूलाई खानेपानी समस्या रहेको छ ।
गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार जङ्गलमा लागेको आगो बस्ती पसेपछि गुल्मीका विभिन्न स्थानमा ६१ घर, ७९ गोठ/बङ्गालो र १ सय ३७ पशुचौपाय जलेर नष्ट भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकामा भएको छ । इस्मा गाउँपालिकामा २७ घर, गुल्मी दरवारमा चार, मदानेमा नौ, मुसिकोटमा पाँच, रुरुक्षेत्रमा सात, धुर्कोटमा पाँच, मालिकामा दुई, रेसुङ्गा र कालिगण्डकीमा एक/एक घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । त्यस्तै दुई मानिस र १९ पशुचौपाय घाइते भएका छन् । दुई विद्यालयमा सामान्य क्षति भएको छ ।

त्यस्तै एक कुटानीपिसानी मिल, तीन पसल, एक टयाक्टर र एक मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । जिल्लामा घरबारविहिन भएका आगलागी पीडितहरू छिमेकी र अस्थायी आवासमा बसिरहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ६१ लाभग्राही कायम गरेर स्थायी आवास निर्माणको सुविधाको लागि केन्द्र र प्रदेशमा सिफारिस गरेको छ । बैठकले जिल्लाका चार प्रदेश सभा निर्वाचन क्षेत्रमा एक/एक दमकल र फायर पम्प खरिद गर्न स्थानीय तहलाई अनुरोध गर्ने, कार्यालयहरूलाई आगामी मनसुनमा हुनसक्ने क्षतिको लागि बजेट व्यवस्थापनको लागि र स्थानीय तहहरूलाई तत्काल विपद् प्रतिकार्य योजना बनाउन पत्राचार गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
आगलागी पीडितहरूको लागि स्थानीय तह, प्रशासन र सङ्घसंस्थाहरूले प्रारम्भिक चरणको राहत वितरणको काम गरिसकेका छन् । अहिलेसम्म गुल्मीका ८० सामुदायिक वनको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा डढेला लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो समय जिल्लाका १२ ओटै स्थानीय तहका सामुदायिक तथा निजी वन क्षेत्रमा आगो लागेको छ । जिल्लाका ४ सय ५८ मध्ये ८० सामुदायिक वनको २ हजार २० हेक्टरमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत तथा सूचना अधिकारी राजन कुवँरले जानकारी दिनुभयो । जिल्लाका विभिन्न जङ्गलहरूमा लागेको आगलागीका कारण बस्तीहरूमा ठूलो भौतिक क्षतिसँगै वातावरणीय प्रदुषण, महत्वपूर्ण बोटबिरुवा, जङ्गली जनावरहरूको विनाश भएको छ । डिभिजन वन कार्यालयका निमित्त प्रमुख सहायक वन अधिकृत पङ्कज कुमार ठाकुरले सबैभन्दा ठूलो कुरा नागरिक सचेतना भएको बताउनु भयो ।

अधिकृत ठाकुरले समुदायमा एक जना मान्छे खराब हुँदा पनि आगलागीले ठूलो क्षति हुने भएकाले सामुदायिक सचेतना आवश्यक रहेको औँल्याउँदै वन आफैमा समस्या नभएर मान्छेले निम्त्याएकाले सबैले पूर्व सावधानी अपनाउने र आगलागी गर्न हुँदैन भन्ने चेतनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । गुल्मी लुम्बिनी प्रदेशमै डढेलोको सबैभन्दा जोखिम भएको जिल्ला हो । गुल्मीमा अहिलेसम्म वनमा आगो लगाएको आरोपमा दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । रेसुङ्गा नगरपालिका-७, सिस्नेहार पातल सामुदायिक वनमा आगो लगाउने सोही वडाका ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसीलाई गिरफ्तार गरेको रेसुङ्गा-मुसिकोट सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनन्तबहादुर डाँगीले जानकारी दिनुभयो । प्रारम्भिक बयानको क्रममा आरोपित दुवै जनाले सामुदायिक वनमा आफूहरूले आगो लगाएको स्वीकार गरेकाले वन ऐन २०७६ को दफा ५० (४) अनुसार तीन वर्ष कैद, ५० हजार जरिबाना वा दुवै सजायको व्यवस्था रहेको डाँगीले बताउनु भयो ।
अर्घाखाँची जिल्ला प्रतिनिधि कूलबहादुर नेपालीका अनुसार जिल्लाका ६ ओटै स्थानीय तहका विभिन्न स्थानमा घरभित्र खाना पकाउने क्रममा वन जङ्गलबाट लागेको आगोमा दुई जनाको मृत्यु भएको र आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानमा लागेको आगोबाट ५५ ओटा घर पूर्ण रूपमा जलेर क्षति भएका छन् भने ८३ ओटा गोठ पूर्ण रूपमा जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्र रावलले बताउनु भयो ।

जिल्लाको भौगोलिक अवस्था र हावा हुरी सहितको आगलागीको अवस्था हेर्दा जनशक्ति जति परिचालन भए पनि धेरैजसो स्थानमा आगो नियन्त्रण गर्न निकै ठूलो सास्ती भएको थियो । जिल्लामा एउटै मात्र दमकल भएकोले सबै स्थानमा तत्काल दमकल पुग्न नसक्दा स्थानीयहरू आगो निभाउन बोटबिरुवाका हाँगा र जमिनको माटो प्रयोग गर्न बाध्य भएका थिए । सन्धिखर्क नगरपालिकामा भएको एउटा दमकल जिल्लाका विभिन्न ठाउँमा पुग्नु पर्ने र जताततै आगलागी फैलिँदा एकै दिनमा २० औँ ठाउँबाट फोन आउने गरेको अवस्था र आवश्यकता हेरेर धेरै जसो आगलागी भएका ठाउँहरूमा दमकल पुर्याएर आगो निभाउन प्रयास गरेको दमकल चालक चन्द्रप्रसाद आचार्यले जानकारी दिनु भयो ।
जिल्लामा आगलागीबाट प्रभावित ६२ ओटा घरधूरी र ९१ ओटा घरगोठ, एक जना बालिकाको मृत्यु, ८० भन्दा बढी चौपाय जलेको, एक ओटा मोटरसाइकल र एक पसल जलेर क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायले जानकारी दिनु भयो । आगलागी नियन्त्रणका लागि र आगलागी पीडितहरूको उद्धारका लागि तालिम प्राप्त सुरक्षाकर्मीहरू परिचालन, स्थानीय तह र जनसमुदायलाई आगलागी नियन्त्रण सामग्री सहित तयारीको लागि सूचना दिने, दमकल व्यवस्थापन र परिचालन गर्ने, आगलागी रेखा निर्माणका लागि सम्बन्धित वन उपभोक्ता समितिलाई जिम्मेवारी दिने, आगलागीसम्बन्धी जनचेतना मूलक सूचना प्रसारण र आगजनीमा परी मृत्यु हुनेका पीडित पक्षलाई जिल्ला विपद् व्यवस्थापन समिति मार्फत २ लाख र प्रदेशले १ लाख रुपियाँ उपलब्ध गराउनुका साथै घर गोठ जलेर क्षति भएका पीडितलाई १५ हजार देखि २० हजारसम्म राहत उपलब्ध हुने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।
पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार यो वर्षको खडेरी सुरु भएसँगै पाल्पामा पनि आगलागीका घटना बढ्दै गएको छ । हालसम्म पाल्पामा १ सय २७ स्थानको ३ हजार २ सय १५ हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलले बताउनु भयो ।
आगो निभाउने क्रममा तीन जना सामान्य घाइते भएका छन् । आगलागीबाट ३१ ओटा घर पूर्ण रुपमा क्षति भएका छन् । ५० ओटा गोठ जलेर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले बताउनु भयो । उहाँले आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेवा, सशस्त्र प्रहरी सहित स्थानीयहरू लागि परेको बताउनु भयो ।
जिल्लामा एउटा मात्रै दमकल छ । तानसेन नगरपालिकामा रहेको दमकलको क्षमता ३ हजार ५ लिटर पानी बोक्न सक्ने रहेको छ । एउटा मात्रै दमकल जिल्लभर पुग्नुपर्ने अवस्था छ । दमकलको अभावमा नागरिकहरू अहिले पनि आगो निभाउन माटो र स्याउलाको प्रयोग गर्न बाध्य छन् । एउटा दमकललाई एकै दिनमा १० भन्दा बढी स्थानबाट फोन आउने गरेको तानसेन नगरपालिकाका दमकल चालक मनोज रुचालले बताउनु भयो । सम्भव भएसम्म धेरै स्थानमा पुगेर आगो निभाउने प्रयास गरे पनि सबै ठाउँमा पुग्न सम्भव नरहेको चालक रुचालले जानकारी दिनुभयो । पछिल्लो हप्ता लगभग दिनरात नभनेर एकछिन पनि सुत्न नपाएको चालक रुचालले बताउनु भयो ।
जङ्गलमा आगो लगाउने १८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । विभिन्न स्थानमा आगो लगाउने १८ जनालाई गिरफ्तार गरिएको डिएसपी श्रेष्ठले बताउनु भयो । बारी तथा खेतका कान्लामा आगो लगाई छाड्नेलाई गिरफ्तार गरिएको डिएसपी श्रेष्ठले उल्लेख गर्नुभयो । आगोलागीमा संलग्न भएका बालबालिकादेखि ९६ वर्षसम्मका ज्येष्ठ नागरिक रहेको उहाँले बताउनु भयो । यसरी गिरफ्तार गरिएकाहरूलाई एक दिन प्रहरी हिरासतमा राखेर सम्झाई बुझाई गरेपछि आफन्तको जिम्मा लगाउने गरिएको उहाँले जानकारी दिनुभयो ।
पश्चिम नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार पश्चिम नवलपरासीमा १३ स्थानमा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट आठ ओटा घर, दुई ओटा भान्सा, तीन ओटा गोठ, एक अस्पताल, एक खेत र एक स्थानको जङ्गलमा आगलागी भएको हो । विद्युत सर्ट, चुलो, बच्चा खेल्ने क्रममा, मैनवत्तीबाट, खेतमा भुस जलाउँदा जस्ता कारणबाट आगलागीका घटना घटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले बताउनु भयो । आगलागीका घटनाबाट जिल्लाभर सात कच्चि घर, एक भान्सा कोठा, तीन ओटा गोठ पूर्णरूपमा नष्ट हुँदा ३४ कुखुरा, पाँच ओटा हाँस र दुई ओटा बाख्रा मरेको तथ्याङ्क छ । त्यसैगरी आगलागीमा घर जल्दा फर्निचर, अन्नपात, लत्ताकपडा, केही थान मोबाइल, परालका टौवा पनि नष्ट भएका छन् । हालसम्म कुनै पनि मानवीय क्षति भने भएको छैन ।
जिल्लाको पाल्हीनन्दन, रामग्राम र प्रतापपुरमा बढी आगलागी भएको छ । सबैभन्दा बढी क्षति पाल्हीनन्दनमा भएको छ । राहत वितरण स्थानीय तहहरूबाट निर्णय गरी कुनै राहत रकम घोषण भएको अवस्था नभए तापनि रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले पाल्हीनन्दनका आगलागी पीडितलाई राहत स्वरुप व्यक्तिगत खर्चमा खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ ।
रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार आगलागीका कारण रुपन्देहीका ६ ओटा स्थानीय तहका १ सय ५८ घर परिवार प्रभावित भएका छन् । जिल्लाका रोहिणी गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, गैडहवा गाउँपालिकाकामा आगो लागेर करोडौ धनजनको क्षति भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताउनु भयो ।
आगलागी पीडितहरू प्राय गरिब तथा विपन्न परिवारका रहेका छन् । जिल्लामा सबैभन्दा बढी क्षति रोहिणी गाउँपालिकामा भएको छ । रोहिणी गाउँपालिकामा ९८ घर जलेर नष्ट भएको जसमध्ये ५२ घर पूर्णतया ध्वस्त भएका छन् भने अन्यमा आंशिक क्षति भएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताउनु भयो । आगलागी पीडितका लागि जिल्ला प्रशासन कार्यालयले विपत्त राहत कोष मार्फत पीडितको घर परिवारलाई प्रति परिवार १५ का दरले राहत वितरण गरेको र स्थायी समाज सेवीहरूले विभिन्न खाद्यान्नहरू उपलब्ध गराएको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि पशु चौपाया, मोटरसाइकल, साइकल,टिभी लगायतका सामाग्रीहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । स्थानीय तहहरू पनि आपनकालिन रूपमा त्रिपाल र खाद्यान्नको व्यवस्था गरिरहेको र जिल्लाको सम्पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीबी रानाले बताउनु भयो ।
कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार कपिलवस्तुको विजयनगरको दुई ओटा गाउँमा लगातार आगलागी भएको छ । विजनगर गाउँपालिका-५ को डालपुर र नौरगिया गाउँमा वैशाख १९ गते दिउँसोदेखि आगलागी हुँदा २८ ओटा घर, २५ ओटा गोठ र तीन ओटा भन्साघर जलेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । आगलागी भएको लामो समय पश्चात दमकल, प्रहरी र स्थानीयहरूको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको ५ नम्बर वडाका वडा अध्यक्ष थापाले बताउनु भयो ।
स्थानीयहरूले खेतबारीमा लगाएको आगो हावाहुरीका कारण खेतबारी हुँदै गाउँसम्म पुगेको हुनसक्ने इलाका प्रहरी कार्यालय, गणेशपुरले जनाएको छ । उक्त घटनामा मानवीय क्षति भएको छैन । आगलागीको विस्तृत जानकारीको लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिवराज, महाराजगञ्ज र कृष्णनगरको दमकलले आगो निभाइएको स्थानीयहरूले बताएका छन् । आगलागी हुँदा अन्न, लत्ताकपडा सबै जलेर नष्ट भएको छ ।
यस अगाडि कपिलवस्तुको यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकामा आगलागी हुँदा ५० घर टहरा जलेर नष्ट भएका छन् । वैशाख ७ गते गहुँको डाँठमा लगाएको आगो बस्तीमा पुग्दा क्षति भएको जिल्ला प्रहरी कार्यालयका एसपी नवरत्न पौडेलले बताउनु भयो । एसपी पौडेलका अनुसार शुद्धोधन पाँच घेराउजोत, सानो फुलुवापुर, गदवा, तारानगर क्षेत्रमा आगलागी हुँदा १२ घर गोठ जलेर क्षति भएको छ । आगलागीका कारण जान मोहम्मद, पराग बरई, सौकत अलि, एलीयास मोहम्मद गद्दी, मोहम्मद हुसेन, जवाहिर मुसलमान, हरिहरप्रसाद यादव, धमल यादव र आकाश यादवको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
यसैगरी मायादेवी गाउँपालिका-२, अविरावमा आगलागी हुँदा जय सराफ पासी र गुर्देयाल पासीको गोठ जलेर क्षति गरेको छ । यसैगरी यशोधरा गाउँपालिका-१, ठूलो पकडीमा आगो लाग्दा ३० ओटा कच्ची र पक्की घर र ६ ओटा गोठ जलेर नष्ट भएको छ । पकडीमा दिउँसो लागेको आगो साँझ नियन्त्रणमा आएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका प्रमुख रामजङ्ग पाण्डेले बताउनु भयो । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाको दमकल परिचालन गरिएको थियो ।
यस्तै बाणगङ्गा नगरपालिका-८, बोर्डगाउँमा आगलागी हुँदा तीन ओटा घर जलेर नष्ट भएका भए । बिजुलीको तार सर्ट भएर लागेको आगोले तीन ओटा घरसँगै बङ्गुर फर्म जल्दा नौ ओटा बङ्गुर समेत मरेका छन् । दिलबहादुर थापाको बङ्गुर फर्ममा लागेको आगोका कारण साना ठूला गरी करिब नौ ओटा बङ्गुर मर्दा करिब ८ लाख बराबरको क्षति भएको छ । त्यस्तै केशव बहादुर थापा, दुध बहादुर चौधरी र बालकुमारी सुनारको घर जल्दा एक/एक लाख रुपियाँको क्षति भएको इलाका प्रहरी कार्यालय, पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले बताउनु भयो । बाणगङ्गा-८ स्थित पुल्चोक बस्तीमा लागेको आगो केही घण्टापछि तीन ओटा दमकल, २१ जना प्रहरी, स्थानीय लगायतको समूहले नियन्त्रणमा ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।
दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार सुख्खा मौसमसँगै दाङमा आगलागी हुँदा सर्वसाधारणका ४१ घर र ३२ ओटा गोठ जलेर नष्ट भएका छन् । जिल्ला विपत व्यवस्थापन समिति दाङले जिल्लामा ४१ घर र ३२ गोठमा आगलागी भएको दुई ओटा बाहेक सबै पूर्ण रूपले जलेको जनाएको छ ।

आगलागीमा परी मानवीय क्षति भएको छैन तर घर गोठसँगै एक उद्योग, एक कृषि फर्म, भान्सा घर दुई ओटा जलेका छन् । यस्तै आगलागीमा परी १२ ओटा बाख्रा र बोका तथा ६ ओटा गाई, गोरु जलेका छन् । जिल्ला विपत व्यवस्थापन समितिको प्रारम्भिक तथ्याङ्क अनुसार दाङमा चैत र वैशाख महिनामा २ करोड ९ लाखको क्षति भएको छ । पछिल्लो पटक वैशाख १६ गते राजपुर गाउँपालिका–७ मा आगलागी हुँदा २३ घर र २० गोठ जलेर नष्ट भएका छन् । ८७ लाख ७५ हजारको क्षति भएको राजपुरमा ९९ सय जना विस्थापित भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनु भयो । उहाँले आगलागी पीडितको पुनस्थापना तथा तत्काल आधारभूत आवश्यकता पूर्तिको काम भइरहेको बताउनु भयो ।
बाँके जिल्ला प्रतिनिधि ध्रुबराज शर्माका अनुसार आगलागीका कारण बाँकेका पाँच ओटा स्थानीय तहमा प्रभावित भएका छन् । जसमध्ये नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै १५ स्थानमा, जानकी गाउँपालिकामा सात स्थानमा, राप्तीसोनारी गाउँपालिकाको ६ स्थानमा, डुडुवा गाउँपालिकामा चार स्थानमा र खजुरा गाउँपालिकामा एक स्थानमा आगलागी भएको वारुणयन्त्र विभागका कर्मचारी आनन्द बर्माले जानकारी दिनुभयो ।

जिल्लामा खरको छानो घर भएकाले आगलागीका कारण करोडौँ बराबरको नोक्सानी भएको छ । आगलागी पीडितले आफूहरूले पक्की घर निर्माण गर्न नसकेकै कारण यस्तो समस्या भोग्नु परेको बताएका छन् । राप्ती सोनारी गाउँपालिका-७ का वडा कार्यालयले वैशाख २० गते सात घरधुरीका ३४ जना आगलागी पीडितलाई चामल २५ किलो, दाल पाँच किलो, नुन दुई किलो, तेल दुई लिटर, साबुन, कपडा र रेडक्रस सोसाइटीले बालटिन, त्रिपाल, कम्बल उपलब्ध गराएको वडा अध्यक्ष रामलखन थारुले जानकारी दिनुभयो ।
बर्दिया जिल्ला प्रतिनिधि प्रकाश पौडेलका अनुसार बर्दियामा यसवर्ष आगलागीको घटनामा परी नौ जनाको मृत्यु र १३ जना घाइते भएका छन् । आगलागी घटना बढेसँगै आगलागीबाट मानवीय र धनजनको नोक्सानी बढेको छ । समुदायमा मानिसहरूको असावधानी पूर्वक आगोको प्रयोग, घरको बनावट, असुरक्षित तथा अव्यवस्थित विद्युतीय उपकरणको प्रयोग, खेतबारी आगो लगाउने कारण र सामुदायिक वनमा घाँस पलाउने लोपमा आगो लगाउने कारण पनि आगलागीको घटना बढेको जिल्ला विपत् व्यवस्थापन समितिको अनुमान रहेको छ । आर्थिक वर्ष ०७९/८० मा भएको ४४ ओटा घटनामा परी तीन जना घाइते भएको थिए भने आर्थिक वर्ष ०७८/७९ मा भएको ३६ आगलागी घटनामा २२ जनाको मृत्यु र ७९ जना घाइते भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सूचना अधिकारी तुल्सीराम अर्यालले प्रहरीले आगलागी नियन्त्रण गर्नको लागि सरोकारवाला निकायसँग समन्वय गर्ने, आगलागी भएको स्थानमा प्रहरी परिचालन गरी आगलागी नियन्त्रण र उद्धार गर्ने गरिएको जानकारी दिनुभयो । प्रहरीले विभिन्न ठाउँमा आगलागी हुन नदिनका लागि सचेतना मूलक सन्देश दिने काम गर्दै आएको उहाँले बताउनु भयो । आगलागी हुन नदिन वन क्षेत्र, पराल, नल, दाउरा खर जस्ता कुराहरूमा आगो चाँडै फैलिने र आगो लगाउने सक्ने चीजहरू जथाभावी नफाल्ने, बालबालिकाको पहुँचबाट टाढा सलाई लाइटर जस्ता प्रज्ज्वलशील टाढा राख्नुपर्ने डिएसपी अर्यालले बताउनु भयो । त्यसैगरी सिलिण्डरको पाइप, सिलिण्डर बेलाबेलामा जाँच्ने, खाना पकाएपछि आगो निभाउने, प्रयोग नभएका विद्युतीय उपकरण सकेटबाट टाढा राख्ने र सबैभन्दा महत्त्वपूर्ण प्रत्येक व्यक्ति सचेत हुनुपर्ने डिएसपी अर्याल बताउनुहुन्छ ।