INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिवक्ता थारुलाई तत्काल रिहाइ गर्न मानव अधिकारकर्मीहरूको माग

पेसागत व्यावसायिक कामको सिलसिलामा सेवाग्राहीको जग्गा नामसारी सम्बन्धी मुद्दाको कामको लागि भूमि सुधार तथा मालपोत कार्यालय, कोहलपुरमा गएको समयमा नेपालगञ्ज उच्च अदालत बारका कार्यकारी समिति सदस्य अधिवक्ता शतिषचन्द्र थारुलाई ०८१ वैशाख २३ गते गिरफ्तार गरी विचौलियाको आरोप लगाई दुर्व्यवहार गरेको घटना प्रति मानव अधिकारकर्मीहरूले आपत्ति जनाएका छन् । बाँकेका मानव अधिकारकर्मीहरूले ०८१ वैशाख २४ गते विज्ञप्ति जारी गर्दै अधिवक्ता थारुलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।

भूमि सुधार तथा मालपोत कार्यालय, कोहलपुरको कार्यालयको सिँढीबाट झर्ने बेला एक्कासी प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलको नेतृत्वमा रहेको टोली मालपोत कार्यालय, कोहलपुरमा प्रवेश गरी वस्तुगत आधारमा प्रमाण बेगर बिचाैलियाको आरोप लगाउँदै कानुन व्यवसायी शतिषचन्द्र थारुलाई नियन्त्रणमा लिई कानुनले तोकेको विधि प्रकृया समेतको पालना नगरी अभद्र व्यवहारको मुद्दा दर्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।

पेसागत व्यावसायिक कामको सिलसिलामा अर्धन्यायिक निकायमा उपस्थित भएका कानुन व्यवसायीलाई बिचौलियाको आरोप लगाई बनावटी अभद्र व्यवहार मुद्दा दर्ता गरेको र निज कानुन व्यवसायीलाई घरपरिवारका सदस्य, कानुन व्यवसायी तथा बारको पदाधिकारी समेतसँग भेटघाट समेत गर्न नदिई हिरासतमा राखिएको अधिवक्ता डिलेश्वर थारुले बताउनु भयो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान र कानुन पक्षको तर्फबाट सार्वजनिक सरकारी अड्डा अदालत, न्यायिक अर्धन्यायिक निकायमा उपस्थित भई सेवाग्राही तर्फबाट बहस पैरवी र वकालत गर्न पाउने कानुन व्यवसायीको अधिकार नेपाल कानुनले नै प्रदान गरेकोमा पेसागत कार्यका लागि भूमिसुधार तथा मालपोत कार्यालय, कोहलपुरमा उपस्थित भएको र आफू कानुन व्यवसायी भएको भनी नेपाल कानुन व्यवसायीको परिचय पत्र देखाउँदा समेत प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको टोलीले गैरकानुनी रुपमा गिरफ्तार गरी बिचौलियाको आरोप लगाउँदै अभद्र व्यवहारको मुद्दा चलाएको छ ।’

अन्य

भिडियो