भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा घुम्ती शिक्षकमार्फत अटिजम भएका बालबालिकालाई घरमै अध्यापन गरिँदै आएको छ । कालिका नगरपालिका– ९ की १२ वर्षीया विनिता चेपाङ कक्षा दुईमा अध्ययन गर्नु हुन्छ । शारीरिक अपाङ्गता भएका कारण उहाँ विद्यालयसम्म जान सक्नु हुँदैन ।
सामान्य हिँडडुल गर्न पनि नसक्ने उहाँका लागि विद्यालयसम्म पुग्न समस्या हुने गरेको छ । शारीरिक अपाङ्गता भए तापनि उहाँमा मानसिक सक्षमता रहेको भन्दै गत वर्षदेखि अटिजम केयर चितवन सोसाइटीले घुम्ती शिक्षकमार्फत घरमै अध्यापन गराउने व्यवस्था गरेको छ ।
उहाँको पढाइ, सिकाइ र हिँडडुलमा समेत सुधार होस् भनी घुम्ती शिक्षकको रूपमा विमलबहादुर थापालाई अटिजम केयर चितवनले शिक्षक नियुक्त गरी खटाएको छ । विनिता ११ वर्षको उमेरमा चर्तुमुखी माविमा भर्ना हुनु भएको थियो । घरबाटै परीक्षामा सहभागी हुनु भयो ।
समावेशी शिक्षा परियोजनाबाट खटिएका शिक्षक थापाले विनितामा शारीरिक र मानसिक सक्षमतामा सुधार हुँदै गएको बताउनु भयो ।
शारीरिक र मानसिक कार्यगत सिमीतता भएका कालिका नगरपालिका–४ का युनिस सापकोटामा आएको परिवर्तनले उहाँका बुबा सीताराम र आमा कमला निकै खुसी हुनुहुन्छ । ओछ्यानमै दिसापिसाब गर्ने छोरा अहिले आफै शौचालयसम्म पुगेर दिसापिसाब गर्ने अवस्था देखेपछि घुम्ती शिक्षकको सहयोगबाट आफूहरूले नसोचेको परिवर्तन पाएको बताउनु हुन्छ ।
अपागङ्ता भएका व्यक्तिलाई सिकाउने भनेको दैनिकरूपमा प्रयोगमा आउने गतिविधिहरू जस्तै खाना खाने, हातमुख धुने, कलम समाउने, अक्षर चिह्न सक्नेलाई चिनाउनेसम्मको काम हुने गरेको अर्का घुम्ती शिक्षक शिव महतो बताउनु हुन्छ।
शारीरिक असक्षमता भएकाहरूका लागि उनीहरूको सहजतालाई ध्यानमा राखेर र्याम्प बनाउने, कम्बोर्ड शौचालयको व्यवस्था गर्ने, हिडडुलको लागि समानन्तर बारको व्यवस्था गर्ने गरेको अटिजम केयर चितवन सोसाइटीकी कार्यकारी निर्देशक प्रमिला न्यौपानेले बताउनु भयो । यस्ता बालबालिकालाई आवश्यक शैक्षिक सामग्री संस्थाले उपलब्ध गराउने गरेको उहाँको भनाइ छ ।
शारीरिक तथा मानसिक अवस्था बुझेर अटिजम केयर सोसाइटीले कार्यगत क्षमता विकासका लागि भनेर घुम्ती शिक्षकको व्यवस्था गरेको छ । अटिजम केयर चितवन सोसाइटीमार्फत सञ्चालन गरिएको अपाङ्गता समावेशी विकासका लागि समाबेशी शिक्षा परियोजनामार्फत घुम्ती शिक्षक व्यवस्था गरिएको हो ।
अटिजम भएका बालबालिकाे वृत्तिविकासका लागि दैनिक क्रियाकलापमा सहभागी गराउने काम घुम्ती शिक्षकको हो । भरतपुर र कालिका नगरपालिकाका विद्यालय क्षेत्र बाहिर रहेका बालबालिकामा यस्तो प्रकृतिको शिक्षण सिकाइ हुँदै आएको न्यौपानेले बताउनुभयो ।
इसिडीदेखि आठ कक्षासम्मका बालबालिका तथा विद्यालय जाने उमेरका १८ वर्ष मुनिका बालबालिका र अपागङ्ता भएका र दैनिक क्रियाकलाप गर्न नसक्ने बालबालिकाको प्रारम्भिक पहिचान घुम्ती शिक्षकमार्फत गरी तथ्याङ्क सङ्कलन गरेर उनीहरूको सशक्तिकरणका लागि काम गर्ने गरेको न्यौपानेले बताउनु भयो ।
चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका १ सय ४५ ओटै सामुदायिक विद्यालयका इसिडीदेखि कक्षा आठसम्मका अपाङ्गता भएका, कार्यगत सिमीतता भएका, सिकाइमा कठिनाइ भएका “बालबालिका घरमा आधारित शिक्षा”मा ६६ जना बालबालिकाहरूले उक्त सेवा लिइरहेका छन् ।