सामुदायिक वनमा लागेको डढेलो मानव बस्तीमा आउँदा पछिल्लो एक महिनामा मात्रै ५६ ओटा घरगोठ जलेर नष्ट भएको छ । करोडौँको क्षति भएको छ । वनमा लागेको डढेलो बस्तीमा पस्दा २५ ओटा घर र ३१ ओटा गोठ जलेर नष्ट भएका हुन । त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, कपुरकोट गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउँपालिका र शारदा नगरपालिकाका विभिन्न स्थानमा गरी डढेलोले घरगोठमा पुर्णरुपमा क्षति पुर्याएको हो ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी चन्द्रविर गुरुङ्गले यस पटक १ सय ७० ओटा सामुदयिक वन समूहमा डढेलो लागेको बताउनुभयो । जिल्लामा ६ सय १७ सामुदायिक वन रहेका छन् । डढेलोका कारण करिब १२ हजार हेक्टर वन स्वाहा भएको अनुमान गरिएको र आधिकारिक तथ्याङ्क सङ्कलनको काम भइरहेको उहाँको भनाइ छ । विभिन्न सामुदायिक वनमा लागेको डढेलोबाट करिब ५० हजार बढी साना–ठूला बोटबिरुवा जलेर नष्ट भएका छन् । यस्तै डढेलोमा परेर घाइते भएका घोरल र खरायोको उद्धार गरिएकोमा उपचारको क्रममा मृत्यु भएको छ।
जिल्लामा छैन दमकल
आकस्मिक रुपमा आगलागी हुँदा आगो निभाउने यन्त्र दमकल नै नभएपछि समस्या हुने गरेको छ । जिल्लाका दश स्थानीय तहहरु मध्ये कुनै पनि स्थानीय तहमा दमकल छैनन् ।
कार्यालयको लागि सवारीसाधन खरिद गरेका स्थानीय तहका जनप्रतिनिधिले डढेलो नियन्त्रणका लागि भने एउटा दमकल समेत खरिद गर्न सकेका छैनन् । छत्रेश्वरी गाउँपालिका–५ का आगलागी पीडित मोहन वलीले जिल्लामा एउटा पनि दमकल नहुनु दुःखद भएको बताउनुभयो । ‘जिल्लामा वर्षेनी डढेलोका घटनाहरु हुने गर्दछन्, तर पनि दमकल नहुँदा समस्या हुने गरेको छ’ उहाँले भन्नुभयो ‘दमकलबाट वनमा गएर डढेलो निभाउन नसकिएला तर सडकको पहुँच भएका क्षेत्रका घर तर बचाउन सकिन्थ्यो ।’ दमकल भए डढेलोका कारण हुने क्षति केही हदसम्म कम हुने उहाँको भनाइ छ ।
स्थानीय तह अत्यावश्यक दमकल किन्नुको साटो सडक बनाउने नाममा डाँडाकाँडा भत्काउने डोजर किन्छन्, अहिले सामान्य आगलागी भएपनि ठुलो क्षति हुने गरेको छ’ अर्का स्थानीय थल बहादुर घर्तीले भन्नुभयो ‘जनप्रतिनिधीहरुले भौगोलिक विकटताका कारण गाउँमा खासै दमकलको आवश्यकता नदेखिएकाले दमकल नकिनेको दाबी गर्दै आएका छन् ।’
जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीले जिल्लामा दमकल अति आवश्यक रहेको बताउनुभयो । ‘एउटा पालिका एक्लैले दमकल किन्न सक्दैन् भने भेग समेटेर केही पालिका मिलेर किन्न पनि सकिन्छ, भौगोलिक विकटताका कारण दमकलले पुरै वन जोगाउन सकिदैन्, तर बस्ती बचाउन सकिन्छ, मान्छे र उनीहरु बस्ने घर बचाउनु नै अहिलेको मुख्य काम हो’ उहाँले भन्नुभयो ।
डढेलो निभाउन ‘स्याउला’ कै भर
जिल्लामा वर्षेनी डढेलो लाग्छ । तर अहिलेसम्म पनि डढेलो नियन्त्रण गर्ने भरपर्दो औजार छैन् । जसका कारण डढेलो नियन्त्रण गर्न समस्या हुने उपभोक्ता बताउँछन् । ‘स्याउलाको भरमा छौँ, स्याउलाले डढेलो नियन्त्रण गर्न जोखिम हुन्छ, तालिमप्राप्त व्यक्ति छैनन्, सुरक्षाको उपाय बिना डढेलो लागेको ठाउँमा जान गाह्रो हुन्छ’ कालिमाटी गाउँपालिकाका स्थानीय तुलसीराम वलीले भन्नुभयो ‘वर्षेनी डढेलो लाग्छ तर स्रोत साधन नहुँदा स्याउला लिएर उपभोक्ता आफै कसिनुको विकल्प छैन् ।’
डढेलो लागेमा डिभिजन वन कार्यालयसँग उपलब्ध भएका हाते सामग्रीको मात्र प्रयोग भइरहेको छ । डढेलो नियन्त्रणका लागि स्थानीय तह वा प्रदेश कसैले पनि पर्याप्त बजेट छुट्याएका छैनन् । डिभिजन वन कार्यालयका प्रमुख जीतेन्द्र महतले भौगोलिक विकटताका कारण जिल्लामा लागेको डढेलो नियन्त्रण गर्न समस्या भइरहेको बताउनुभयो । ‘जिल्लाका ठाउँ–ठाउँमा डढेलो लागेको छ, सल्लाको वनमा लागेको डढेलो नियन्त्रण गर्न आफैमा चुनौती हुन्छ, झन् भिरालो जमिन, हावा चल्ने भएकाले समस्या हुन्छ’ उहाँले भन्नुभयो । महतका अनुसार उपभोक्ता, वन कर्मचारी र सुरक्षा निकायको सहयोगमा वनमा लागेको डढेलो नियन्त्रण गर्ने काम भइरहेको छ ।
जानाजान र लापरबाहीले लगाउँछन् डढेलो
जिल्लामा भएका वन डढेका घटना हेर्दा मानिसले नै डढेलो जानजान लगाउने गरेको पाइएको छ । ‘नयाँ पालुवा पलाउँछ भनेर जंगलमा मानिसले जानजान आगो लगाउने गरेको देखिन्छ, कतिपय अवस्थामा भने घरछेउकै खरबारी, बारीको छेउकुनामा लगाएको आगो नियन्त्रण बाहिर गएर वन सखाप पारेको देखिन्छ’ डिभिजन वन कार्यालयका प्रमुख महतले भन्नुभयो ‘कतिपय लापबाहीका कारण पनि डढेलो लाग्ने गरेको छ ।’ उहाँका अनुसार चुरोटको ठुटा जथाभावी फाल्दा पनि डढेलो लाग्ने गरेको छ । यो वर्ष भने पानी पनि कम परेका कारण बढी डढेलो लागेको उहाँको बताउनु भयो ।
वन ऐन २०७६ मा वनमा आगो लगाउन नपाइने व्यवस्था छ । ऐनको दफा ४९ मा वनमा आगो लगाउने वा आगलागी हुने कुनै कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । उक्त ऐनको दफा ५० को ४ मा तीन वर्षसम्मको कैद र ६० हजार जरिबाना वा दुवै हुनेसक्ने व्यवस्था गरिएको छ । हाल वनमा आगो लगाउनेलाई पक्राउ गरेर कारबाही गरेका घटना जिल्लामा छैनन् ।



