
विष्णु गाउँपालिका–१ बाराउद्योरणमा ०८१ वैशाख २० गते भीषण आगलागी भएको छ । आगलागीले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ ।
भारतसँग सीमा जोडिएको विष्णु गाउँपालिकामा आगलागीका कारण मानवीय क्षती नभएपनि ७४ ओटा घरगोठ, ३५ ओटा बाख्रा, चार ओटा भैँसी र तीन ओटा गाई जलेर नष्ट हुनुको साथै ४ सय ९५ जना मानिसहरू प्रभावित भएको विष्णु गाउँपालिकाका मेयर जवाहरलाल यादवले जानकारी दिनु भयो ।
वैशाख २० गते बिहान ९ बजेदेखि सुरु भएको आगलागी साँझ ५ बजे नियन्त्रणमा आएको मेयर यादवले बताउनु भयो ।
आगलागीबाट ६९ ओटा घरहरू पूर्ण क्षतिग्रस्त भएका छन् भने पाँच ओटा घरमा आंशिक क्षति भई १ करोड ४० लाख ५० हजार रुपियाँ बराबरको सम्पति क्षति भएको र नगद ७ लाख रुपियाँ समेत जलेर नष्ट भएको मेयर यादवले जानकारी दिनु भयो ।
४३ वर्षीय शत्रुधन राउतको घरबाट सुरु भएको आगलागीमा सात ओटा ग्याँसको सिलिण्डर विस्फोट भएपछि आगो गाउँभरी फैलिएको सोही ठाउँका ३८ वर्षीय श्यामु राउतले जानकारी दिनु भयो ।
स्थानीयबासी, प्रहरी, हरिवन नगरपालिका र महोत्तरीको रामगोपालपुरबाट आएको बारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी १० नम्बर गणका एसपी विनोदराज खनालले जानकारी दिनु भयो ।
स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित हरिवन, महोत्तरीको रामगोपालपुर र सम्सी, र जनकपुरधामस्थित प्रहरी गणबाट आएको बारुण यन्त्रको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको र पीडितहरुलाई तत्काल त्रिपाल तथा खानाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिनु भयो ।
हरीपुर्वा नगरपालिका वडा नं ४ र धनकौल गाउँपालिका वडा नं ३ मा क्रमश वैशाख १५ र १६ गते भएको आगलागीका कारण वैशाख १७ गते जिल्ला विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिनु भयो । बैठकमा विपद्को समयमा सबै सरोकारवाला निकाय तथा विभिन्न संघ संस्थाहरूले आआफ्नो तर्फबाट सहयोग र सहायताका लागि समन्वय गर्ने निर्णय गरिएको र सहयोग राहत एकद्वार प्रणाली अन्तरगत गरिने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
प्रदेश तथा केन्द्रबाट हालसम्म कुनै किसिमको सहयोग नपाएकोमा मेयर यादवले दु:ख व्यक्त गर्नु भयाे ।


