INSEC Online

📅 २०८३ जेष्ठ २१

पोखराका १५ हजार घरमा पानीको अभाव

पोखरा महानगरपालिकाका करिब १५ हजार घरधुरीले खानेपानीको अभावले गर्दा समस्या खेपिरहेका छन् । घरमा पानी आएन भनेर दैनिक पाँच देखि १० ठाउँबाट  खानेपानी संस्थानमा डेलिगेसन आउन थालेको छ ।

पोखरा– २ विन्ध्यवासिनीको धारापानी मार्गका डोलराज सिग्देलको घरको धारामा मङ्सिरमा महिनासम्म पानी आयो । त्यस यताको पाँच महिनामा उहाँको घरको धाराबाट पानी नै चुहिएको छैन । सोही ठाउँकी सुनिता पुडासैनीको घरमा भने पानी नआएको दुई महिना भयो । उहाँहरुको मात्र होइन पोखरा– २ विन्ध्यवासिनी धारापानी मार्गका करिब ५० घरधुरीबाट वडा कार्यालय, खानेपानी संस्थान पोखरा धाइरहेका छन् । यसअघि एक दिन बिराएर पानी आउने गरेको थियो । एक दुई दिनमा समस्या समाधान हुने भन्दै खानेपानी संस्थाले आश्वासन दिए पनि धारामा पानी आएको छैन । समस्या समाधानको विकल्प पनि नखोजिएको स्थानीयहरु बताउँछन् ।

एउटै टोलमा कसैको घरमा पाच महिनादेखि पानी नआउने, कसैको दुई महिनादेखि नआउनुको कारण भने भौगोलिक धरातल हो । खानेपानी संस्थानको पानीको पाइप कुन सतहमा छ, सोही अनुसार नजिक र होचो ठाउँमा रहेका घरमा दुई महिनाअघि सजिलै पानी आउँथ्यो । अहिले ती ठाउँमा पनि पानी आउँदैन । सुनिता भन्नुहुन्छ ‘धारामा पानी आउने आशमा बसे त भान्सा पनि चल्दैन । पानीका लागि बोरिङबाहेक अर्को उपाय छैन ।’

आफ्नो घर लगायतका टोलका करिब ५० घरधुरीले यस्तो समस्या व्यहोरिरहेको उहाँले बताउनुभयो । घरमा पानी नआउने परिवारको समूह बनाएर वडा कार्यालय र खानेपानी संस्थानमा पुगे पनि सुनुवाई हुन नसकेको उहाँको गुनासो छ ।

पोखरा– २ का वडाध्यक्ष दिवसमान प्रधानांगले पनि पानीको समस्या समाधान गर्न नसकिएको स्वीकार्नुभयो । उहाँले पोखरा– २ को एउटा क्षेत्रमा मात्र नभएर धेरै ठाउँमा पानीको समस्या रहेको उल्लेख गर्नुभयो । ‘घरमा पानी आएन भनेर एक ठाउँबाट होइन, दैनिक पाँच देखि १० ठाउँबाट डेलिगेसन आउन थालेको छ । विन्ध्यवासिनी खानेपानी संस्थानमा पुगेर बारम्बार भेटेर समस्या छिट्टै समाधान गर्न अनुरोध गरेको छु । मिलाउँछौं भनेर आश्वासन दिनुभएको छ,’ वडाध्यक्ष प्रधानांगले भन्नुभयो । बढ्दो खानेपानी समस्या समाधान गर्न आउँदो बजेटको प्रथामिकतामा खानेपानीलाई राखिने वडाध्यक्ष प्रधानांगले जनाउनुभयो ।

खानेपानी संस्थान विन्ध्यवासिनी इकाइ प्रमुख प्रकाश सिलवालले एक ठाउँमा मात्र नभएर धेरै ठाउँमा पानी पुर्‍याउन नसकेको बताउनुहुन्छ । ‘पानी आएन भनेर कार्यालयमा आउने धेरै हुनुहुन्छ । हामी समस्याको समाधान खोजी गरिरहेका छौं । खानेपानीको नयाँ स्रोत नखोजी त अहिले आवश्यकता पूरा गन सक्ने अवस्थामा संस्था छैन,’ उहाँले भन्नुभयो ।

पोखरा महानगरपालिकाका ३३ ओटै वडामध्ये १ देखि १९ वडासम्म खानेपानी संस्थाले पानी वितरण गर्दै आएको छ । मर्दीखोला मुहान, भोटीखोला मुहान, कालीमुढा मुहान र बालधारा मुहानबाट ल्याइएको पानी उपत्यकामा वितरण गर्ने गरिएको छ । अहिले ती मुहान पनि पानी कम आउन थालेको छ ।

यी मुलबाहेक संस्थाले पोखराका १५ ओटा बोरिङबाट पानी निकालेर वितरण गर्दै आएको छ । फूलबारी, पार्दी, हिमाली टोल, अमरसिंहचोक, चाउथे, माटेपानी र घलेचोक रामबजारको बोरिङबाट पानी निकालेर वितरण गर्दै आएको भए पनि खानेपानी समस्या समाधान गर्न सक्ने अवस्था नरहेको संस्थानका पोखरा शाखा प्रमुख आशीष कार्कीले बताउनुभयो । उहाँका अनुसार न्यूरोड, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल चिप्लेढुंगा, विन्ध्यवासिनी लगायत ठाउँमा पानीको समस्या छ ।

लामो समय पोखरामा खडेरी पर्दा पानीका मुहान सुकेका छन् । त्यस कारण आवश्यकता अनुसार पानी उपलब्ध गराउन नसकिएको कार्की बताउनुहुन्छ । ‘पोखराको दैनिक पानीको माग ७ करोड लिटर हो । अहिले साढे ४ करोड लिटरभन्दा बढी हामीले दिन सकेका छैनौं,’ उहाँले भन्नुभयो । पोखराका ५१ हजार घरधुरीमध्ये ३० प्रतिशत घरमा पानी पुर्‍याउन नसकेको उहाँ बताउनुहुन्छ । कार्कीकै शब्दलाई संख्यामा बदल्दा पोखराका करिब १५ हजार घरधुरीले अहिले खानेपनी समस्या बेहोरिरहेका छन् ।

‘आकासबाट पानी नपरेपछि उपलब्ध खोलाको पानी पनि सुक्दै गएको छ । यस्तो अवस्थामा तत्काल पानीको समस्या समाधान गर्न कठिन छ,’ उहाँले भन्नुभयो, ‘पानी नपरुञ्जेल पोखरामा आवश्यक पानी उपलब्ध हुन सक्ने अवस्था छैन । तैपनि हामी मिलाउने प्रयास गरिरहेका छौं ।’

पोखरामा बढ्दो जनसंख्यासँगै माग पुरा गर्न सरकारले मेलम्ची जस्तो आयोजना छिट्टै सुरु गर्नुपर्ने अवस्था रहेको सरोकारवालाहरु बताउँछन् । जाइकाको सहयोगमा पोखरा उपत्यकामा खानेपानी सुधार आयोजना चलिरहेकाले पनि पानी वितरणमा समस्या भएको छ । यो आयोजना अहिले अन्तिम चरणमा छ । आयोजना सकिएपछि पानीको गुणस्तर र आपूर्ति दुवै सुधारिने संस्थानको दावी छ ।

अन्य

भिडियो