आगलागीबाट घरबास जलेर नष्ट भएपछि महादेवा गाउँपालिका–१ चिम्टीका झण्डै ३ सय दलित र मुस्लिम समुदाय विस्थापित भई खेतमा आश्रय लिएर बसेका छन् ।
आगलागीले मुसहर, मुस्लिम र यादव समुदायको बसोवास रहेको चिम्टी बस्ती ०८१ वैशाख १८ गते दिउँसो नष्ट भएपछि त्यहाँका ३ सय स्थानीयवासी खेतको आश्रय लिन बाध्य भएका हुन् ।
आगलागीमा १ सय बढी घरगोठ जलेको सप्तरी प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीले बस्ती नै नष्ट गरेपछि कम्तीमा ३ सय व्यक्ति विस्थापित भएको वडा अध्यक्ष जयश्वर किशोर दासले जानकारी दिनुभयो । उहाँका अनुसार “बस्तीमा अधिकांश फुस र जस्तापाताले छाएका घर थिए्, तीमध्ये सबैजसो जलेका छन् र केही पशुचौपायासमेत मरेका छन् ।” दिनभरको आगलागीले घर र घरभित्रका सबै सरसामान जलेपछि १० जनाको परिवारसहित विस्थापित हुनु परेको चनरीदेबी सदाले दुखेसो सुनाउनु भयो ।

गाइभैसीलाई दाना पकाउन शत्रुधन यादवको गोठमा सल्काएको परालको आगोको झिल्को उडेर छानामा पुगेपछि आगलागी भएको हो । पश्चिमी हावा चलिरहेको र पूर्वतर्फ लहरै घरहरू भएकाले बस्ती नै सखाप भएको वडा अध्यक्ष दासले बताउनु भयो । बताससँगै मच्चिएको आगो पूर्व सर्दै बस्ती नै सखाप हुन पुगेको बेचु सदाले बताउनु भयो । बस्ती सखाप भएपछि नजिकैको खेतमा खुला आकाशमुनि बृद्धबृद्धा, सुत्केरी, बालबालिकाले शरण लिएका छन् ।
अत्यधिक गर्मी र तीव्र हावाका कारण एकछिनमै दुई टोल खरानी भएको वडाध्यक्ष दासले भन्नुभयोे, ‘घरबाट कसैले पनि केही निकाल्न पाएनन् ।’ वारुणयन्त्र आउँदासम्म बस्ती खरानी भइसकेको सोमेन्द्र सदाले बताउनु भयो ।
सुरुमा हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्रको प्रयोग भए पनि आगो नियन्त्रणमा नआएपछि शम्भुनाथ नगरपालिका, कञ्चनरूप नगरपालिका र प्रहरीको वारुणयन्त्र झिकाइएको थियो । स्थानीय र नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणमा लिन नसकेपछि सेना र सशस्त्र प्रहरी टोली समेत जुटेर आगो निभाएका थिए ।
आँखैअगाडि आगोले आफ्नो घर ध्वस्त पारेको जानकारी दिदै साबरीदेबी सदाले अब बस्ने र खाने समस्या भएको बताउनु भयो । दुई दिनअघि मात्रै दुलही भित्र्याएका बैजु यादवको घरसँगै सबै सामान जलेको छ । चिम्टी टोलकी ७० वर्षीया अहिल्या देवीले नातिनीको विवाहका लागि वर्षौँदेखि गाँस कटाएर केही पैसा जम्मा गरेकी थिइन्, गरगहना जोडिदिएकी थिइन । आगलागीमा सबै सखाप भएपछि नातिनीको विवाहको चिन्ताले उहाँ पिरोलिनु भएको छ ।
चन्दर यादवले वैशाख १७ गते मात्र बुहारी भित्र्याउनु भएको थियो । वैशाख १८ गते छोराको विवाहभोजको तयारी थियो । पाहुनाले घर भरिभराउ थियो । अचानक छिमेकीको घरबाट आगो सल्केपछि सबै ज्यान जोगाउँदै भाग्नु परयो । घर जलेपछि नयाँ बेहुलीसहित विस्थापित हुनु परेको यादवले बताउनु भयो ।













