आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका-१८ का प्रेमलाल सार्कीलाई ६ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश मनोजकुमार श्रीवास्तवको वैशाख १७ गतेको इजलासले कसुर ठहर गर्दै ६ महिना कैद सजाय, २० हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
पीडित बालिकालाई आरोपितले ०८० वैशाख २७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सार्की विरुद्ध वैशाख २८ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख २८ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भएको थियो । सार्की वैशाख २८ गते गिरफ्तार भएका थिए ।
जिल्ला अदालतको ०८० जेठ २१ गतेको इजलासले सार्कीलाई ३० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।