बझाङ निर्वाचन क्षेत्र नम्बर १ मा वैशाख १५ गते सम्पन्न हुने प्रदेशसभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरू हुनु पूर्व सन्ध्यामा निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलहरुले मोटरसाइकल र्याली निकाल्ने र समाजिक सञ्जाल फेसबुकमा भोटमाग्ने कामहरु भइरहेको पाइएको छ ।

उपनिर्वाचनका लागि एकीकृत समाजवादीका उमेदवार दिलबहादुर सिंहको चुनाव चिन्ह् कलमको प्रचारप्रसारका लागि तमैलबाट सदरमुकाम चैनपुर बजारमा ०८१ वैशाख १२ गते मोटरसाइकल र्याली निकालिएको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ विपरित कलम चुनाव चिन्ह्को प्रचारका साथै भोट माग्न र्यालीको आयोजना गरिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत दफा १३ को १ (द) मा कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाईकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुँने उल्लेख छ । तर, सयौँको सङ्ख्यामा उपस्थित भएर गरिएको र्याली तमैलदेखि जयपृथ्वी नगरपालिका–१० चैनपुरसम्म गरिएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

यसैगरी मौन अवधी लागु भइसकेको अवस्थामा पनि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले समाजिक सञ्जाल फेसबुकबाट चुनाव चिन्ह् सहित उम्मेदवारलाई भोट माग्ने र प्रचारप्रसारका सामाग्रीहरु पोष्ट गर्ने कार्य रोकिएको छैन् ।
