इलाम निर्वाचन क्षेत्र न.२ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवारले मौन अवधि सुरूआत हुनु पूर्व सन्ध्यामा निर्वाचन आचारसंहिता विपरित मोटरसाइकल र्याली निकालेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

उपनिर्वाचनका लागि पहिचान पक्षधरका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्रसारका लागि चुलाचुली गाउँपालिकामा ०८१ वैशाख ११ गते मोटरसाइकल र्याली निकालिएको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ विपरित मुढा चुनाव चिन्हको प्रचारका साथै भोट माग्न र्यालीको आयोजना गरिएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत दफा १३ को १ (द) मा कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाईकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरि र्याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने उल्लेख छ ।
तर, सयौँको सङ्ख्यामा उपस्थित भएर गरिएको र्याली चुलाचुली गाउँपालिका-१ कमलदेखि १, २, ४, ५ हुँदै ६ नम्बर वडाको तोरीबारी (मधुमल्ला उत्तर) पुगेर कोणसभा गरिएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । तोरीबारीमा भएको कोणसभामा कार्यक्रम संयोजक विक्रम लिम्बूले सम्बोधन गर्नु भएको छ । माङ्सेबुङ्ग गाउँपालिका-६, चिसोपानी पञ्चमी बजारमा चुनावीसभा गरिएको छ ।
चुनावी सभाको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले उपनिर्वाचनमा इलाम जाग्नुपर्ने भन्दै मुढामा भोट लगाएर डकेन्द्रसिंह थेगिमलाई जिताउन आव्हान गर्नु भएको छ ।