INSEC Online

📅 २०८३ जेष्ठ २१

शैक्षिक सत्र सुरू भएको आठ महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

चन्दननाथ नगरपालिका भित्र रहेको एकमात्र चन्दननाथ गुरूकुल पाठशालाका बालबालिकाले शैक्षिक सत्र सुरू भएको आठ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् ।

उक्त गुरूकुल पाठशालाका प्रद्यानाध्यापक विश्वराज उपाध्यायले शैक्षिक सत्र सुरू भएको पहिलो हप्तामा पाठ्यपुस्तक माग गरिएपनि आठ महिना बितिसक्दा पनि अहिलेसम्म प्राप्त नभएको बताए । उनले भने-‘पाठ्यपुस्तक नभएपछि बालबालिकाको पठनपाठनमा प्रभावित भएको छ । यस विषयमा पटकपटक जिल्ला शिक्षा कार्यालयसँग अनुरोध गर्दा पनि सुनुवाइ भएन ।’

प्रधानाध्यापक उपाध्यायले भने अहिले गुरूकुल पाठशालामा कक्षा तीनसम्म पठनपाठन भइरहेको छ । दुई कक्षासम्मका बालबालिकाले पुराना पाठ्यपुस्तक अध्ययन गरिरहेका छन् तर तीन कक्षाका बालबालिकाले भने पाठ्यपुस्तक नपाएकाले पठनपाठनमा समस्या भएको हो ।

कर्णालीमा फागुन महिनादेखि शैक्षिक सत्र सुरू हुने गरेपनि भदौ महिनाको अन्तिम हप्तासम्म पनि पाठ्यपुस्तक बालबालिकाले प्राप्त गर्न सकेका छैनन् ।

चन्दननाथ गुरूकूल पाठशालामा अहिले १५ जना छात्रा र २५ जना छात्र गरी ४० जना बालबालिका अध्ययन गरिरहेका छन् । उक्त पाठशालामा गुरूकुल सामाजिक, संस्कृत रचना, संस्कृत भाषा, गुरूकुल नेपाली विषय पठनपाठन भइरहेको छ ।

जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले पाठ्यपुस्तक माग गरेपनि समयमा प्राप्त नभएको बताए । उनले भने समयमा विभागदेखि पाठ्यक्रम विकास केन्द्रमा जानकारी गराएपनि पाठ्यपुस्तक प्राप्त नभएका कारण समस्या भइरहेको छ । ‘पाठ्यपुस्तक खरिदका लागि विद्यालयलाई निकासा दिएका छौँ । उनीहरूले पनि व्यवस्थापन गर्न सक्छन् ।’-जिशिअ फडेराले भने ।

अन्य

भिडियो