INSEC Online

📅 २०८३ जेष्ठ २१

नौ दिनदेखि अस्पतालमा शव : पीडितसँग इन्सेक र मानव अधिकार आयोगको छलफल

चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउदै परिवारले शव बुझ्न नमान्दा २२ वर्षीया भिमा गुरुङ बलामीको शव नौ दिनदेखि अस्पतालको पोष्टमार्टम गृहमै रहेको छ । दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी भिमा पाठेघरको समस्या भई ०८० चैत २७ गते कर्णाली प्रदेश अस्पताल पुग्नु भएको थियो । चैत २८ गते अस्पताल भर्ना हुनु भएकी उहाँको उपचारको क्रममा चैत २९ गते मृत्यु भएको थियो ।

डक्टरको लापरवाहीले भिमाको मृत्यु भएको भन्दै उनका परिवारले घटनाको छानविनसहित क्षतिपूर्तिको मागगर्दै शव बुझेका छैनन् । डक्टरको लापरवाहीले मृत्यु भएको उनका २४ वर्षीय पति नवराज बलामीले आरोप लगाउनु भएको छ । भिमाकी आठ महिनाकी छोरी रहेकी छन् ।

पीडित परिवारले आदीवासी जनजाति महासङ्घ सुर्खेतका कार्यवाहक अध्यक्ष अशोक राजीको संयोजकत्वमा वार्ता समन्वय समिति समेत गठन गरेको छ । यो घटना बाहिर आएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले चासो देखाएका छन् । वैशाख ६ गते पीडित परिवार र आन्दोलन तथा वार्ता समन्वय समितिसँग इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त टोलीले भेटघाट गरी छलफल गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले मिडियाबाट उक्त घटनाबारे बाहिर आएपछि अस्पताल र सामाजिक विकास मन्त्रालयसँग घटनाको वास्तविकता बुझ्न आवश्यक कागजात मागिएको बताउनुभयो । ‘यो घटना मिडियामा आइसकेपछि हाम्रो ध्यानाकर्षण भएको छ,’प्रमुख बास्तोलाले भन्नुभयो, ‘अस्पताल र मन्त्रालयसँग हामीले कागजात मगाएका छौं । घटनाबारे सत्य, तथ्य बुझेर अगाडी बढ्नेछौं ।’

त्यस्तै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले उक्त घटनाको विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव लगायतका निकायसँग समन्वय भइरहेको बताउनुभयो ।

‘घटना बारे हामीले राष्ट्रिय मानव अधिकार आयोगसँग समन्वय गरेर वास्तविकता बुझिरहेका छौं । यदी डाक्टरकै लापरवाहीका कारण उक्त घटना भएको हो भने पीडितलाई न्याय दिन हामी सदैव तयार छौं,’ उहाँले भन्नुभयो, ‘केही दिनमा नागरिक समाजको तर्फबाट ध्यानाकषर्ण गर्ने तयारीमा छौं ।’

प्रदेश अस्पतालका मेडिकल रेकर्डर अधिकृत तथा सूचना अधिकारी विनोद बस्नेतले विभिन्न चरणमा भएको वार्ताबाट पनि सहमति हुन नसकेको बताउनुभयो ।

‘तीन–चार चरणको वार्ताबाट पनि सहमति हुन सकेको छैन । अस्पतालले घटनाको विषयमा जाँचबुझ समिति गठन गरेर अगाडी बढ्ने लगायतका विषयमा सकारात्मक हुँदा पनि पीडित परिवारले मान्नुभएको छैन,’उहाँले भन्नुभयो, ‘क्षतिपूर्ति, बालिकाको पालनपोषण र शिक्षा, स्वास्थ्यको समेत माग राख्दै आएपछि सहमति हुन सकेको छैन ।’

पीडित परिवारले राहत, क्षतिपूर्ति, छानविन समिति बनाई दोषीलाई कारबाही, बालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र रोजगारीको माग राख्दै आएका छन् । मागहरू पुरा नभएसम्म शव नबुझ्ने मृतकका बुवा गोविन्द गुरुङ्गले बताउनुभयो ।

20240419Surkhet (1) 20240419Surkhet (2)

 

अन्य

भिडियो