सिंजा बहुमुखी क्याम्पसका प्राध्यापकले तलब सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।
क्याम्पस प्रमुख तिर्थबहादुर नेपालका अनुसार ‘२०७६ सालमा ७५ हजार रुपियाँ तलब बुझेको थिए । त्यो तलब पनि एक वर्षअघिको थियो । त्यहाँदेखि उहाँले तलब नपाएको गुनासो गर्नुभयो । तर क्याम्पसको काममा भने नियमित खटिएकै छौँ ।’ आंशिक समय पढाउने १० जना प्राध्यापकले पनि तलब नपाएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो शिक्षकले पनि पढाएको पारिश्रमिक पाइरहेका छैनन् । क्याम्पसको आयस्रोत नभएको र सरकारले पनि क्याम्पस सञ्चालनको लागि आर्थिक सहयोग नगरेकाले क्याम्पस अलपत्र परेको उहाँले बताउनु भयो ।
क्याम्पस प्रमुख नेपालले विद्यार्थी भर्ना गरेबापत् सङ्कलन भएको रकमले प्रशासनिक खर्च जुटाउने गर्ने गरेका छौँ । यो वर्ष २० जना मात्रै विद्यार्थी क्याम्पसमा भर्ना भइरहेका छन् । प्रति विद्यार्थी ७ हजार शुल्क उठाउँदा एक लाख ४० हजार रुपैयाँ मात्र सङ्कलन भएको छ । यतिले क्याम्पसको वार्षिक प्रशासनिक खर्चमात्रै चल्छ ।
कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिका गरेर तीन स्थानीय तहका विद्यार्थीहरुको पठनपाठन सहज होस् भन्ने उद्देश्यले २०६७ सालमा सिंजा बहुमुखी क्याम्पसको स्थापना थियो । क्याम्पसमा शिक्षा संकायतर्फ अंग्रेजी, नेपाली, अर्थशास्त्र र गणित विषयको अध्ययन भइरहेको छ । व्यवस्थापन तर्फ मार्केटिङ्ग विषय पढाइ भइरहेको छ ।
भवन निकै पुराना र जीर्ण छन् । नाग्म गमगडी सडकसँगै जोडिएर बनेको सिंजा बहुमुखी क्याम्पस साधारण विद्यालय जस्तो पनि छैन । वर्षायाममा गौचरण जस्तो देखिन्छ । क्याम्पसमा घेराबारा छैन । भिरालो जमिन भएकोले वर्षेनी पहिरो गइरहेको हुन्छ । जसले भवनहरु पनि भत्किदै जान थालेका छन् ।
प्रदेश सरकार र स्थानीय सरकारले क्याम्पस परिसरमै दुई ओटा भवन बनाइरहेको छ । एक भवनको रङ्ग रोगन नहुँदा प्रयोगमा आउन सकेको छैन । एउटा भवनको पिलर मात्रै ठड्याइएको छ ।
भिरालो जमिनमा रहेको क्याम्पसमा भर्खरै बनेका दुई भवन समेत अलपत्र अवस्थामा छन । प्रदेश र स्थानीय सरकारले वर्षेनि संरचना निर्माणमा बजेट छुट्याउने गरेपनि भवनहरु अधुरै अवस्थामा छन् ।
क्याम्पसको वृद्धि विकासमा स्थानीयले पनि खासै चासो देखाएका छैनन् । तर सिंजा क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गर्न र हराभरा बनाउन क्याम्पस व्यवस्थापन समितिले पहल गरिरहेको जनाएको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर जिसीले यसअघिको व्यवस्थापन समितिले काम नगर्दा क्याम्पसको अवस्था खस्किएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘क्याम्पस निर्माण र व्यवस्थापनको लागि सरकारी पक्षसँग बारम्बार कुराकानी भइरहेको छ । केही वर्षमा क्याम्पसको अवस्था सुध्रने पक्का छ ।’ शिक्षक, विद्यार्थी, अभिभावक र सरकारहरु बीचको आपसी सम्बन्धले मात्र क्याम्पसको स्तरवृद्धि हुने बताउनु भयो । उहाँका अनुसार अघिल्लो व्यवस्थापन समिति हुँदा क्याम्पसको खातामा जम्मा १३ रुपियाँ मात्र थियो । अहिले बजेटको स्रोत खोज्ने पहल भइरहेको छ ।


