INSEC Online

📅 २०८३ जेष्ठ २१

उपनिर्वाचन ०८१- आचारसंहिता उल्लङ्घनको आरोपमा उम्मेदवारसँग स्पष्टीकरण, भोट माग्दै शिक्षक

इलाम निर्वाचन क्षेत्र न.२ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिएसँगै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा दुई जना उम्मेदवारसँग स्पष्टीकरण सोधिएको छ ।

उपनिर्वाचन आचारसंहिता अनुगमन अधिकृत राजेन्द्र आचार्यले लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन योङहाङ लिम्बू र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई उपनिर्वाचन आचारसंहिता २०७९ उल्लङघन गरेको आरोपमा वैशाख ५ गते स्पष्टीकरण सोध्नु भएको हो ।

दुवै जना उम्मेदवारलाई चौविस घण्टाभित्र जबाफ माग्दै लिखित स्पष्टीकरण सोधिएको उपनिर्वाचन आचारसंहिता अनुगमन अधिकृत राजेन्द्र आचार्यले बताउनु भयो ।

रास्वपा उम्मेदवार मिलन लिम्बूविरूद्ध निर्वाचन प्रचारप्रसार तथा मत माग्ने क्रममा मापदण्डविपरीतका ब्यानर, फोटो, स्टेण्ड बनाइ टाँस गरेको भन्ने उजुरी परेपछि जबाफ माग गरिएको अनुगमन अधिकृतले आर्चायले बताउनु भयो ।

‘आचारसंहिता अनुगमन अधिकृतबाट अनुगमन गर्नेक्रममा देखिएको फोटो वा प्रचार सामग्री तपाइँको होइन वा तपाइँले नै टाँस गरेको होइन भन्ने कुनै आधार र प्रमाण देखिएन,’ योङहाङलाई सोधिएको स्पष्टीकरणको पत्रमा उल्लेख छ, ‘तपाइँबाट निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचनसम्बन्धी कानुनविपरीत कार्य भएको हुँदा अविलम्ब उक्त सामग्री हटाउनु हुन, अन्यथा निर्वाचन आयोग ऐनबमोजिम किन कारबाही नगर्ने, कारबाही नगर्नुपर्ने कुनै प्रमाण र कारण भएमा स्पष्टीकरणपत्र प्राप्त भएको मितिले चौविस घण्टाभित्र चित्त बुझ्दो जबाफ पेश गर्नहुन जानकारी गराइन्छ ।’

अर्का उम्मेदवार डकेन्द्र थेगिमले निर्वाचन प्रचारप्रसार तथा मत माग्ने क्रममा मापदण्ड विपरीत नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले नयाँ वर्ष २०८१ को शुभकामना एवम् निर्वाचनमा आफूलाई मत मागेको भिडियोलाई तोडमोड गरी साउण्ड डबिङ गरी डकेन्द्रकै नाममा मत मागेको स्पष्टीकरणपत्रमा उल्लेख छ ।

‘उजुरी परेको सम्बन्धमा आचारसंहिता अनुगमन अधिकृतबाट अनुगमन गर्नेक्रममा बुझ्दा उक्त कार्य तपाइँबाट भएको होइन वा तपाइँले नै गरेको होइन भन्ने कुनै आधार र प्रमाण देखिएन,’ पत्रमा उल्लेख छ, ‘तपाइँबाट निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचनसम्बन्धी कानुनविपरीत कार्य भएको देखिँदा अविलम्ब उक्त सामग्री सामाजिक सञ्जालबाट हटाउनु हुन, अन्यथा निर्वाचन आयोग ऐनबमोजिम किन कारबाही नगर्ने, कारबाही नगर्नु पर्ने कुनै प्रमाण र कारण भएमा स्पष्टीकरणपत्र प्राप्त भएको मितिले चौविस घण्टाभित्र चित्तबुझ्दो जबाफ पेश गर्नहुन जानकारी गराइन्छ ।’

Photo 20240417 Ilam (1)

आचारसंहिता विपरित भोट माग्दै शिक्षक

इलाम निर्वाचन क्षेत्र न.२ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा ०८० चैत २८ गतेबाट निर्वाचन आचारसंहिता, २०७९ लागू भएपनि जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

फाकफोकथुम गाउँपालिका-३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयका शिक्षक दीपेन्द्र पराजुलीले निर्वाचन आचारसंहिता, २०७९ विपरित ०८१ वैशाख ३ गते नेपाली कांग्रेसका उम्मेदवारलाई भोट माग्नु भएको  छ ।

नेपाली कांगेस उम्मेदवार डम्बरबहादुर खड्कालाई रूख चिन्हमा मतदान गरी बहुमतले जिताउन भन्दै सामाजिक सञ्जाल फेसुबुकमा भिडियो सामाग्रीमार्फत भोट माग्नु भएको छ ।

नेपाली विषय अध्यापन गराउने शिक्षक दीपेन्द्र पराजुलीले बोलेको भिडियो कांग्रेस कार्यकर्ताले सार्वजनिक गरेका छन् । भिडियोमा शिक्षक पराजुलीले ‘सुख दुःखको साथी डम्बर खड्का,सामाजिक सेवामा समर्पित डम्बर खड्का, इलामे युवा उम्मेदवार पनि हो । उसलाई यसपालि रूख चिन्हमा भोट दिएर अत्याधिक बहुमतले विजय गराएर यस क्षेत्रको मुहार फेर्ने हाम्रो धोको छ ।’

निर्वाचन आचारसंहिता,२०७९ परिच्छेद १ को दफा १० अन्तर्गत विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचारणको पहिलो बुँदा (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।

Photo 20240417 Ilam (2)

अन्य

भिडियो