INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीका ४ हजार २ सय घरधुरीले खाेला र नदीकै दुषित पानी पिउन बाध्य

कर्णाली प्रदेशका ४ हजार २ सय बढी घरधुरीले खोला र नदीको दुषित पानी पिउन बाध्य छन्  ।

स्रोत भएपनि उचित प्रवर्द्धन र पूर्वाधार विकास सहित स्रोत परिचालनको ठोस नीति र लगानी नहुँदा कर्णाली प्रदेशका ४ हजार २ सय घरपरिवार खोला र नदीको दुषित पानी पिउन बाध्य भएका हुन् । नेपालको संविधानले खानेपानीलाई आधारभूत आवश्यकता मानेको छ । संविधानको भाग–३ मौलिक हक अन्तरर्गत स्वास्थ्य सम्बन्धी हकको दफा (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँचको हक हुने व्यवस्था छ ।

तर सङ्घीयता कार्यान्वयन भएको ६ वर्ष वितिसक्दा पनि कर्णाली प्रदेशका नागरिक खोला र नदीको दुषित पानी पिउन बाध्य रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार कर्णाली प्रदेशका १० ओटै जिल्लामा गरी अझै ४ हजार २ सय ७६ घर परिवार अहिले पनि खोलाकै दुषित पानी प्रयोग गरिरहेको पाइएको छ ।

सबैभन्दा बढी कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतका नागरिकले खोला नदीको पानी पिउने गरेका छन् । तथ्याङ्क अनुसार सुर्खेत जिल्लाका १ हजार ४ सय ६८ घरधुरीले खोला र नदीको दुषित पानीको प्रयोग गरिरहेका छैन्  ।

सल्यान जिल्लामा ७ सय २३, रुकुम पश्चिम जिल्लामा १ सय ९५, जाजरकोट जिल्लामा ३ सय ५३, दैलेख जिल्लामा तीन सय, कालिकोट जिल्लामा २ सय २५ घरधुरीले शुद्ध खानेपानी आधारको अभावले खोलाकै पानी प्रयोग गरीरहेको तथ्याङकले देखाएको छ ।

त्यस्तै, जुम्ला जिल्लामा २ सय १४, हुम्ला जिल्लामा ८५, मुगु जिल्लामा ३ सय ५० र डोल्पा जिल्लामा ३ सय ६३ घरधुरी गरेर कुल ४ हजार २ सय ७६ घरधुरी खोला तथा नदीको दुषित पानी पिउन बाध्य रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङकले देखाएको छ ।

दुषित पानीको प्रयोगकै कारण सबैभन्दा बढी सरुवा रोग लाग्ने भएपनि दैनिकी आवश्यकता परिपूर्तिका लागि दुर्गम कर्णालीका ग्रामिण भेगका नागरिक दुषित पानी प्रयोग गर्न विवश भएका छन् ।

प्रदेश राजधानीकै सबै क्षेत्रमा शुद्ध पानी नपुगेको तथ्याङ्कले देखाइ रहँदा ग्रामीण भेगका नागरिक अझै खानेपानीको चरम अभाव खेपी रहेका छन भन्ने स्पष्ट बुझ्न सकिन्छ । दुर्गम जिल्ला डोल्पाको शेफोक्सण्डो गाउँपालिका, मुगुको मुगूम कार्मारोङ्ग गाउँपालिका, जुम्लाको तातोपानी गाउँपालिका, दैलेखको आठविस नगरपालिका, जाजरकोटको भेरी नगरपालिका, सल्यानको शारदा नगरपालिका, सुर्खेतको बहराताल गाउँपालिकामा सबैभन्दा बढी खोलाको नदीको दुषित पानी पिउने गरेका छन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. पुजन रोकायाका अनुसार यहाँ पानीजन्य रोगका बिरामी बढी आउने गरेका छन् । उहाँले भन्नुभयो ‘कर्णालीका नागरिक शुद्ध खानेपानीको पहुँचमा छैनन् । नदी, खोला र खोल्साको दुषित पानी पिउछन् । जसले गर्दा पानीजन्य रोगका बिरामी आउने गर्दछन् ।

भौतिक विकास केन्द्रित स्थानीय सरकारले खानेपानीको अभाव झेल्दै आएको र खोला नदीको पानी पिउन बाध्य नागरिकको समस्यालाई मध्यनजर गर्दै योजना र नीति बनाउन समेत सकेका छैनन् ।’
हिमा गाउँपालिकाले पाँच वर्षमा पालिकाका सबै बस्तीमा एक घर खानेपानी एकधारा निर्माण गर्ने लक्ष्य लिएको छ । यद्यपि,  तथ्याङ्क अनुसार हिमा गाउँपालिका १ हजार ६ सय घरधुरीले अझै पनि खोलाको पानी प्रयोग गरीरहेका छन् । एकै वर्षमा ७ सय ७६ घरधुरीमा एकघर एकधारा निर्माण गरीसकेको छ तर पालिका भरीमा खोलाको पानी पिउने घरधुरीको पहिचान गर्न सकेको छैन् ।

साथै तातोपानी गाउँपालिका–१ बाइराँका गाउँका स्थानीय खोलाको पानी पिउन बाध्य छैन् । उक्त गाउँमा लामो समयदेखि खानेपानी पुर्याउने कसरत भएपनि हालसम्म स्वच्छ पानी पुगेको छैन् ।
यद्यपि, धौलीघाट खानेपानी आयोजना निर्माणपछि बाइराँकाबासीले शुद्ध खानेपानी पाउने तातोपानी गाउँपालिका – १ का वडा अध्यक्ष कर्ण बहादुर कठायत बताउनु भयो । उहाँका अनुसार ‘वडामा आवश्यकता बढी बजेट सिमित हुने भएको बृहत् खानेपानी आयोजना बनाउन सकिएको छैन् । तर बाइराँकामा पानी पुर्याउन पहल जारी रहेको उहाँको भनाइ छ ।’

Photo20240418Jumla

 

अन्य

भिडियो