राम नवमीको अवसरमा हिन्दू धार्मिक संस्थाले वैशाख ५ गते निकालेको र्यालीका क्रममा र्याली हिड्ने बाटोको विषयलाई भएको झडपमा एक जना बालकसहित आठ जना प्रहरी घाइते भएका छन् ।
विराटनगर महानगरपालिका-१५ मलायारोड स्थित रामजानकी मन्दिरमा ०८१ वैशाख ६ गते आउँदै गरेको र्यालीलाई मस्जिदको बाटो भएर हिड्न अवरोध गरेपछि झडप भएको थियो ।
झडपमा परी आठ जना प्रहरी र एक जना बालक घाइते भएका छन् । घाइते सबैको कोशी अस्पतालमा वैशाख ५ गते उपचार गरिएको छ ।
विराटनगरका पत्रकार निशान्त ढुङ्गानाले रामजानकी मन्दिर जाने क्रममा दुवै पक्षबिच झडप भएको बताउनु भयो । झडपमा परी विराटनगर महानगरपालिका-१५ का १२ वर्षीय बालक भिल्टु दाससहित वरिष्ठ सई रुपेश थपलिया, सई चन्द्रबहादुर रानामगर, असई कृष्णबहादुर राई, प्रहरी सहायक हवल्दार पदमकुमार चौधरी, प्रहरी सहायक हवल्दार दुश्यन्त राजवंशी, प्रहरी जवानहरू विजयप्रकाश चन्द, मुस्ताज जट र दीलिप राई घाइते हुनु भएको छ ।
पत्रकार ढुङ्गानाले रामजानकी मन्दिर जानेहरूले जिल्ला प्रशासन कार्यालयबाट लिएको रूट अनुमति भन्दा अर्को बाटो प्रयोग गरेपछि झडप भएको बताउनु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले दुवै पक्षबिच रूटको विषयमा विमति हुँदा झडप भएपनि अवस्था सामान्य भएको बताउनु भयो ।
झडपले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास र २७ राउण्ड हवाइ फायर गरेको थियो ।















फोटो सौजन्य- पत्रकार निशान्त ढुङ्गाना