INSEC Online

📅 २०८३ जेष्ठ २१

हिमा गाउँपालिका कर्मचारीविहीन, सेवाग्राही मर्कामा

हिमा गाउँपालिकामा १७ दिन देखि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । हिमा गाउँपालिकामा कार्यकारी अधिकृत र वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

हिमा गाउँपालिकामा कार्यरत तत्कालीन कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उपाध्याय चन्दननाथ नगरपालिकामा भदौ ५ गतेदेखि सरुवा भएर गएपछि हिमा गाउँपालिका कार्यकारीविहीन भएको हो ।

गाउँपालिका र वडा कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीका दैनिक काम र आर्थिक कारोबारमा समस्या भइरहेको गाउँपालिकाका प्रमुख राजबहादुर शाहीले बताए ।

उनले भने-‘अहिले गाउँपालिकामा कार्यकारी र सात ओटा वडा कार्यालयमा सचिव छैनन् । कर्मचारी व्यवस्थापनको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालयमा माग गरेका छौँ । तर, व्यवस्थापनको कुनै टुङ्गो लागेको छैन । कर्मचारी अभावका कारण विकास निर्माणका काम पनि प्रभावित भइरहेका छन् ।’

अहिले स्थानीय तहमा पशु, स्वास्थ्य र कृषिका इकाई बाहेक अरू कुनै पनि इकाई नपुगेको प्रमुख शाहीले बताए । सिंहदरवारको अधिकार स्थानीय तहमा भने पनि नारामा मात्र सीमित हुने अवस्था देखिएको उनले टिप्पणी गरे ।

कर्मचारी व्यवस्थापनको जिम्मेवारी प्राप्त गरेका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले स्थानीय तहमा कर्मचारीको कमी नै रहेको भन्दै राज्यले कर्मचारीको व्यवस्थापनमा काम गर्दै गरेको बताए ।

अन्य

भिडियो