१६ वर्षीया बलात्कार पीडित बालिकाको परिवारलाई न्यायीक प्रक्रियामा जानको लागि इन्सेकले ०८० चैत २६ गते आर्थिक सहयोग गरेको छ ।
पीडित बालिकाले आफ्नो आर्थिक अवस्था निकै कमजोर भएको कारण न्यायीक प्रक्रियामा जान समस्या भएको भन्दै सहयोग गरिदिन निवेदन मार्फत इन्सेकसमक्ष आग्रह गर्नुभएको थियो । सोही निवेदनको आधारमा इन्सेकले चैत २६ गते पीडित बालिकाकी काकीलाई १० हजार रुपियाँ सहयोग प्रदान गरेको हो ।
पीडित बालिकाको आमा आफू सानै उमेरमा हुँदा अर्कै विवाह गरेर जानुभएको थियो । त्यसपछि बुबाले पनि अर्कै विवाह गरी छुट्टीएर बस्न थाल्नुभयो । सानै उमेरदेखि नै आफू आमा र बुबाबाट पाउनुपर्ने माया र हेरचाहबाट वञ्चित भएको पीडित बालिका बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘आमा र बुबाको धेरै याद आउँछ । तर उहाँहरूले मलाई वास्ता नै गर्नुहुन्न । अहिले काकीसँग बसेकी छु र उहाँले नै सबै हेरचाह गरिरहनुभएको छ ।’
बालिकाको ३५ वर्षीय बुबा अहिले विदेशमा हुनुहुन्छ । तर बुबा बालिकाको सम्पर्कमा हुनुहुन्न । आफूले बुबालाई सम्पर्क गर्न धेरै प्रयास गरे पनि उहाँले वास्ता नै नगर्नुभएको पीडित बालिका बताउनुहुन्छ । आफूलाई जन्म दिने आमा अहिले कता हुनुहुन्छ उहाँलाई थाहा छैन । सानैदेखि काकीले नै हेरचाह गरिरहनुभएको छ । काकीले उहाँलाई कक्षा ६ सम्म त पढाउनुभयो तर आर्थिक अवस्था निकै कमजोर भएकोले उहाँको पढाइलाई निरन्तरता दिन सक्नुभएन । उहाँको सोही आर्थिक अवस्था कमजोर भएकोले आरोपितले बलात्कार गरेको पीडितकी काकीको भनाई छ । पीडित अहिले मानसिक तनावमा हुनुहुन्छ । उहाँलाई अहिले सेफ हाउसमा राखेर काउन्सेलिङ दिइरहेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ३ गते बलात्कार गरेको थियो । पीडितले पटकपटक जाहेरी लेख्न सरकारी वकिल कार्यालयमा जाँदा आर्थिक अवस्था कमजोर भएको कारण कसैले पनि निःशुल्कमा सहयोग नगरेको पीडितकी काकीले बताउनु भयो । पीडितले जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामनारायण गुप्ताको सहयोगमा निवेदन मार्फत इन्सेकसमक्ष आर्थिक सहयोगको लागि आग्रह गर्नुभएको हो । सोही सहयोग पश्चात पीडितले दिनुभएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भई थप अनुसन्धान भइरहेको छ ।