जिल्लाकाे सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नुन पाउनका लागि नागरिकताको फोटोकपी पेस गर्नु पर्ने बाध्यता छ । नागरिकता नभए स्थानीयबासी नुन पाउनबाट वञ्चित हुनु परेकाेछ । सदरमुकाम सिमकोट र आसपासका नाम्खा र खार्पुनाथ गाउँपालिकाहरू राष्ट्रिय सडक सञ्जालले नछुनु र समयमै हवाई जहाजले आयोडिन नुन ढुवानी नगर्नुले पनि स्थानीय नागरिकले १० किलो नुन पाउन लागि नागरिकता बुझाउनु पर्ने बाध्यता भएको हो ।
सिमकोट स्थित साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले, सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई हाल १० किलोका दरले नुन वितरण गर्दै आएको छ । तर नागरिकताको फोटोकपी नभए स्थानीय सेवाग्राही रित्तै फर्कन बाध्य छन् ।
नुनको खोजीमा गाउँबाट आएका केही नागरिकहरू मुस्किलले १० किलो नुन पाउने गरे पनि केहीले नागरिकता नभएकै कारण रित्तै घर फर्कनु पर्ने बाध्यता छ । साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले हप्ताको एक दिन वितरण गर्दछ । त्यसैका लागि सदरमुकाम सिमकोटमा पुगियो तर नागरिकता नभएकै कारण रित्तै फर्कनु परेको स्थानीय सेवाग्राही ऐटन रावलले गुनासो गर्नुभयो ।
त्यस्तै नागरिकता भएका स्थानीय विर्खबहादुर शाही भन्नु हुन्छ, नागरिकता भएर के काम ? जम्मा १० किलो पाइन्छ । आफूलाई कम्तिमा पनि ५० किलोको आवश्यकता हुने गरेको गुनासो गर्नुभयो । उहाँका अनुसार पावर र पहुँज हुनेले एक पटकमा नागरिकता नभएरै ५० किलो झिक्ने गर्दछन । पहुँज नहुनेले नागरिकता नभए १० किलो पनि पाउन सक्दैनन् । स्थानीय नागरिकका लागि यो नियम लागु गर्नु राम्रो नभएको स्थानीयले गुनासो गर्दै आएका छन् ।
हाल नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार एक जनाबाट ९० रुपियाँ लिने गरिएको छ । “प्रतिकिलो नौ रुपियाँ पर्दछ । एक बोरामा ५० प्याकेट नुन हुन्छ । त्यसको मूल्य ४ सय ५० रुपियाँमा बिक्री हुँदै आएको प्रमुख लामाको भनाइ छ ।
प्रमुख लामाका अनुसार प्रत्येक साताको आइतबार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेस गरेपछि नुन वितरण गरिन्छ । सदरमुकाम सिमकोटमा तीन पालिका सहित जिल्लाभरका नागरिक बसोबास गर्दै आएकाले वार्षिक कोटाले अपुग हुने देखिएपछि नागरिकताको आधारमा १० किलो वितरण गर्न थालिएको प्रमुख लामाको भनाइ छ ।
आर्थिक वर्ष ०८०/८१ का लागि जिल्लामा १ हजार ५ सय क्विन्टल नुन आइपुगेको छ । जिल्लामा आइपुगेको नुन सम्बन्धित पालिकाका जनप्रतिनिधिको जिम्मा दिएर वितरण गरिने भएको छ । झण्डै १८ दिन बसेर दक्षिण भेगमा रहेका पालिकाका नागरिकलाई नुन वितरण गरिएको छ । चंखेली गाउँपालिकामा ३ सय ८७, सर्केगाड गाउँपालिकामा ४ सय ८५, अदानचुली गाउँपालिकामा ४ सय ८५ र ताँजाकोट गाउँपालिकामा चार सय क्विन्टल नुन वितरण गरिएको जानकारी दिनुभयो । जिल्लामा पछिल्लो समय ढिके नुनको प्रयोग हट्दै गएको लामाले बताउनुभयो ।