१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-५ देउरीका २५ वर्षीय अयुव शेख (आयुष खान) लाई १५ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८० चैत २५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ५ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति र २० हजार रुपैयाँ पीडित राहत कोषमा कसुरदारबाट भराउन आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो । यस्तै बालविवाह कसुरमा थप १ वर्ष कैद, १० हजार रुपियाँ जरिबाना र विवाह समेत बदर हुने आदेश भएको श्रेस्तेदार भट्टराईले बताउनु भयो ।
बालिकालाई आरोपितले ०७९ माघ ६ गते वालबिवाह गरी बलत्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७९ माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई प्रहरीले सोहीदिन गिरफ्तार गरी जिल्ला अदालतमा फागुन १७ गते बलात्कार र वालविवाह शीर्षकमा मुद्दा दर्ताृ गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको ०७९ फागुन १७ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ माघ ८ गते गरिएको थियो ।
जिल्ला अदालतले १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कटारी नगरपालिका-५ भुल्केका ५५ वर्षीय खड्गबहादुर राईलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८० चैत २५ गतेको इजलासले कैद सजायसँगै ७ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७९ चैत २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई प्रहरीले चैत २९ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा ०८० वैशाख १९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको वैशाख २० गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ चैत २९ गते गरिएको थियो ।