INSEC Online

📅 २०८३ जेष्ठ २१

भ्रष्टाचार विरूद्धको राष्ट्रिय अभियान अन्तर्गत विभिन्न जिल्लामा हस्ताक्षर कार्यक्रम सम्पन्न

भ्रष्टाचार विरूद्धको राष्ट्रिय अभियान अन्तर्गत स्थानीय तहका प्रतिनिधि तथा सरकारी कर्मचारीहरूले पश्चिमाञ्चलका विभिन्न जिल्लामा भदौ २३ गते भ्रष्टाचार विरूद्ध हस्ताक्षर सङ्कलन गरेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।

तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आफू मातहतका कार्यालयमा सबै खाले भ्रष्टाचारको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । इन्सेक, मानव अधिकार निगरानी समूह र गैरसरकारी संस्था महाससङ्घले व्यास नगरपालिका परिसरमा सञ्चालन गरेको भ्रष्टाचार विरूद्धको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउँदै न्यौपानेले आफू पनि सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचार प्रति प्रतिवद्ध रहने जनाए ।

२० वर्षपछि भएको स्थानीय निर्वाचनमार्फत सबै स्थानीय तहमा जनप्रतिनिधि आएको र जनताको प्रतिनिधिमार्फत दैनिक कामहरू सम्पन्न भइरहेका छन् । नयाँ संरचनामा स्थापित स्थानीय तहका काम कारबाहीको क्रममा जनप्रतिनिधिहरूको असल आचरण र भ्रष्टाचार विरूद्ध शुन्य सहनशीलता कायम गराउने उद्देश्यले इन्सेकले भ्रष्टाचार विरोधी हस्ताक्षर अभियान सञ्चालन गरेको हो । व्यास नपाका कार्यकारी अधिकृत हरिप्रसाद बास्तोला, विभिन्न जिल्लाका वडा अध्यक्षहरू, जनप्रतिनिधि कर्मचारी र सेवाग्राहीले पनि भ्रष्टाचार विरोधी अभियानमा ऐक्यवद्धता जनाएका थिए ।

स्याङ्जा जिल्ला प्रतिनिधि हिमलाल पराजुलीका अनुसार भ्रष्टाचार विरूद्धको राष्ट्रिय अभियान अर्न्तगत स्याङ्जा जिल्लामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम स्याङ्जा बजारमा आयोजित कार्यक्रममा जिल्लाका जनप्रतिनिधिहरूले स्थानीय तहमा जनताको अपेक्षा अनुसार काम गर्ने भन्दै भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाएका छन्  । “म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु” भन्ने मुल नाराका साथ अयोजित हस्ताक्षर सङ्कलन कार्यक्रममा भ्रष्टाचारले देशलाई गाँजेको बताउँदै हस्ताक्षर कार्यक्रममा सहभागी व्यक्तित्वहरूले देश विकासको लागि सबै तहमा हुने भ्रष्टाचारको अन्त्य गर्नु पर्नेमा जोड दिए ।

कास्की जिल्ला प्रतिनिधि सङ्गीता भाटका अनुसार भ्रष्टाचार विरूद्धको राष्ट्रिय हस्ताक्षर अभियान पोखरामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की, गैरसरकारी संस्था महासङ्घ कास्की, सुशासनका लागि नागरिक समाज कास्की र भ्रष्टाचार विरूद्ध नागरिक सञ्जाल कास्कीको संयुक्त आयोजनामा हस्ताक्षर अभियान सम्पन्न भएको हो ।

भ्रष्टचारको विरोध तथा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले स्थानीय जनप्रतिनिधि, सरकारी कर्मचारी, नागरिक समाज, गैरसरकारी संस्थामा आवद्ध व्यक्तित्व र पत्रकारको सहभागितामा जिल्ला समन्वय समिति कास्कीमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले ऐन कानुन बनेर मात्र भ्रष्टाचार न्यूनीकरण नहुने हुँदा मानिसको आचरणमा परिवर्तन आउनुपर्ने भन्दै भ्रष्टाचार न्यूनीकरण गर्न सबै सङ्घसंस्थाहरूसँग समन्वय गरी सम्बन्धित कार्यलयको अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरे । क्षेत्रीले आफू सबै खाले भ्रष्टचारको विरोध गर्दै सदाचार प्रति प्रतिवद्ध रहेको बताए ।

स्थानीय विकास अधिकारी बलराम अधिकारीले यो अभियान महत्वपुर्ण रहेको बताउँदै सरकारी क्षेत्रमा मात्र नभएर सबै ठाउँमा भ्रष्टाचार रहेका कारण व्यवहारमा शुद्धीकरण हुनुपर्ने बताए । इन्सेक क्षेत्रीय कार्यालय, पोखराका संयोजक शिव खकुरेलले भ्रष्टचार नियन्त्रण गर्नका लागि सबै क्षेत्रमा सुशासन प्रतिको प्रतिवद्धता आवश्यक रहेको बताए ।

शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक ढाकाराम पौडेलले देशको समग्र अवस्था विकास हुन नसक्नुको मुख्य कारण नै भ्रष्टाचार रहेको बताए । गैर सरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष पदम पहारीले भ्रष्टाचार आफूले पनि नगर्ने तथा अरूलाई पनि गर्न नदिने सिद्धान्त अवलम्बन गर्नुपर्ने बताए । सुशासनका लागि नागरिक समाज कास्कीका अध्यक्ष सुन्दर गुरुङले सुशासन स्थापित गर्नको लागि नागरिक समाज सचेत र प्रतिवद्ध हुनुपर्ने बताए ।

अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार भ्रष्टाचार विरूद्ध शुन्य सहनशीलता, सबैखाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु भन्ने मुल नाराका साथ इन्सेक अर्घाखाँची र एकीकृत ग्रामीण विकास केन्द्रको आयोजनामा हस्ताक्षर अभियान सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिका, जिल्ला समन्वय समित, र जिल्ला प्रशासन कार्यालका प्रमुख, उपप्रमुख र कर्मचारी, अन्य र्सवसाधारणले व्यानरमा हस्ताक्षर गरी भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए ।

हस्ताक्षर अभियानको बयानरमा हस्ताक्षर गर्दै जिल्ला समन्वय समितका प्रमुख पिताम्बर शर्मालेले  इन्सेकसहित नागरिक समाजका सङ्घ सस्थाको अभियानलाई साथ दिने प्रतिवद्धता व्यक्त गरे । आफूले जिम्मेवारी पाएको निकायमा भ्रष्टाचार रोक्ने बताउँदै शर्माले नागरिक समाजका प्रतिनिधिले जनप्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे ।

सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसालले निर्वाचनमा गरेको प्रतिवद्धता इन्सेकले सम्झाइ दिएकोमा धन्यवाद दिए । इन्सेकको अभियान सान्दर्भिक रहेको बताउँदै भुसालले नगरका निर्वाचित प्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार नगर्न निर्देशन दिएको बताए । सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुरकुमार बिकले अभियान सफलताको शुभकामना दिए । जिल्ला प्रशासन कार्यलयका निमित्त प्रमुख जिल्ला अधिकारी शङ्कर भुसालले नीतिगत रूपमा हुने भ्रष्टाचार राजनीतिक पार्टी हुने हुँदा भ्रष्टाचार रोक्न साझा अभियान सञ्चालन गर्नुपर्ने बताए ।

कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार भ्रष्टाचारको विरोध तथा जनचेतना अभिवृद्धिका लागि इन्सेकले देशव्यापी रूपमा भ्रष्टाचार विरूद्ध हस्ताक्षर अभियान सञ्चालन गरे अनुरूप कपिलवस्तुमा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा स्थानीय विकास अधिकारीसहितका जनप्रतिनिधि तथा कर्मचारीले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा सहभागीहरूले कुनै पद वा दायित्व लिएको व्यक्तिले आफ्नो अधिकार र हैसियतलाई प्रयोग गरी अनुचित ढङ्गबाट आर्थिक हिनामिना गर्नु भ्रष्टचार भएको बताए ।

लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार सबैखाले भ्रष्टाचारको विरोध तथा सदाचारप्रति प्रतिवद्धता भन्ने मूल नाराका साथ इन्सेकको आयोजनामा राष्ट्रिय हस्ताक्षर अभियान सदरमुकाम बेसीशहरमा सम्पन्न भएको छ । अभियानमा जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले हस्ताक्षर गर्दै इन्सेकले गरेको अभियानमा सबैको साथ र सहयोग रहने बताए । भ्रष्टाचारको विरोध तथा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले सञ्चालित अभियान अर्न्तगतको यो कार्यक्रमले भ्रष्टाचार विरूद्ध सबै एकजुट हुनुपर्ने सन्देश दिने अभियानमा सहभागीले बताए ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्लाका दुई संस्थाहरुको आयोजनामा भ्रष्टाचारविरुद्ध हस्ताक्षर सङ्कलन तथा प्रभातफेरी गरिएको छ । एकीकृत ग्रामीण विकास समाज र इन्सेक गुल्मीको सयुंक्त आयोजनामा गुल्मी दरवार गाउँपालिका-१ को बलिथुममा हस्ताक्षर सङ्कलन तथा प्रभातफेरी गरियो ।

कार्यक्रममा वडाअध्यक्ष रामबहादुर पल्ली, सदस्यहरू बसुन्धरा नेपाली, बुद्ध्रि्रसाद पोख्रेल, सुर्यबहादुर कुँवर, स्वास्थ्यचौकी प्रमुख रिकमान श्रेष्ठ, पशु प्राविधिक नारायण पन्थीलगायतलाई हस्ताक्षरसहित प्रतिवद्धता गराइएको छ । इन्सेकले भष्ट्राचारविरुद्ध शुन्य सहनशीलता अर्न्तर्गत ‘म सबै खाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति सधैँ प्रतिवद्ध रहनेछु’ भन्ने राष्ट्रिय हस्ताक्षर अभियान सुरु गरेको छ ।

म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार भ्रष्टाचार न्यूनीकरणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा देशैभर आयोजित हस्ताक्षर सङ्कलन कार्यक्रम अर्न्तर्गत म्याग्दी जिल्लामा कार्यक्रम सम्पन्न गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित हस्ताक्षर अभियानमा भ्रष्टाचार नियन्त्रणका लागि आम नागरिकहरूको पनि महत्वपुर्ण भूमिका रहेको हुन्छ भन्ने हेतुका साथ जनप्रतिनिधि र नागरिक समाज तथा आम नागरिकहरुले सहभागिता जनाएका थिए । बेनी नपा-८ का वडा अध्यक्ष रामकृष्ण बराइली विश्वकर्माले आफूले यस भन्दा अगाडि पनि कुनै पनि कमजोरी नगरेको र सदाचारिता जस्तो पवित्र कार्यमा सदा प्रतिवद्ध रहने बताए ।

इन्सेक रूपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार इन्सेक रुपन्देहीको संयोजनमा भदौ २३ गते बुटवल उप-महानगरपालिकामा म सबै खाले भ्रष्टचारको विरोध तथा सदाचारप्रति प्रतिवद्धतासम्बन्धी हस्ताक्षर सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ । प्रतिवद्धता सहित सङ्कलन गरेको हस्ताक्षरलाई बुटवल उपमहानगरपालिकाका मेयर शिवप्रसाद सुवेदीलाई बुझाई कार्यालयमा सबैले देख्ने गरी झुण्डाइएको छ ।

इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरेराम उप्रेतीका अनुसार कानुन बन्दादेखि नै भ्रष्टाचार गर्न सजिलो हुने किसिमले बन्न थालेको भन्दै गोरखाका एक कार्यक्रमका सहभागीहरुले चिन्ता जनाएका छन् । नागरिक साझा सवाल गोरखाको आयोजनमा भएको भएको भ्रष्टचार विरुद्घको एकता अभियान कार्यक्रम अन्तर्गत घुस खान्न, दिन्न र सहन्न कार्यक्रममा सहभागीहरुले भ्रष्टचार गर्न कहाँ सजिलो हुन्छ भन्दै हिँड्ने एकथरी तप्का रहेको भन्दै चिन्ता व्यक्त गरे ।

भ्रष्टचार गर्ने व्याक्तिको संरक्षण राजनीतिक दलहरूले गर्ने गरेको पनि कार्यक्रमका वक्ताहरुको आरोप छ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले आफू घुस नलिने नदिने र नसहने प्रतिवद्घता जनाए । नेपाल पत्रकार महासङ्घ, सोच नेपाल मानवअधिकार सञ्जाल, इन्सेक गोरखालगायतका सङ्घसंस्थाको संयुक्त सञ्जाल नागरिक साझा सवालको आयोजनाका कार्यक्रम भएको हो ।

‘घुस दिन्या र लिन्या दुवै समाजको सत्रु हुन्’ भन्ने पृथ्वीनारायण शाहको सन्देशलाई कडाइका साथ लागु गर्न गोरखाबाटै अभियान सञ्चालन गर्नुपर्ने पनि कार्यक्रमका वक्ताहरूले बताएका थिए । त्यस्तै भ्रष्टाचार दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हस्ताक्षर सङ्कलन गरेको छ । ‘सबै खाले भ्रष्टचारको विरोध गर्दै सदाचारमा प्रतिवद्घ रहनेछु’ भन्ने नारा लेखिएको व्यानरमा हस्ताक्षर गराइएको हो ।

इन्सेक नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा शुन्य सहनशीलता भ्रष्टाचारविरुद्ध ‘म भ्रष्टाचार गर्दिनँ भन्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर अभियान जिल्लाको सदरमुकाम परासीमा सम्पन्न भएको छ । सङ्कलित हस्ताक्षर रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता र उपप्रमुख रम्भा कुँवरलाई हस्तान्तरण गरिएको छ ।

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार भ्रष्टाचारको विरोध तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक)को देशव्यापी कार्यक्रम अर्न्तर्गत जिल्ला प्रतिनिधिको कार्यालय बागलुङले बागलुङमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ । ‘म सबैखाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु’ भन्ने मुल नाराको साथमा सञ्चालन भएको हस्तारक्षर कार्यक्रममा बागलुङ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

इन्सेकले आयोजना गरेको भ्रष्टाचारविरुद्ध हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदैं बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले आफ्नो अधिकार र पदको दुरुपयोग हुन नदिई बागलुङ नगरपालिकामा हुने सबैखालका भ्रष्टाचारको नियन्त्रण गर्ने बताएका थिए । उनले आर्थिक चलखेल मात्र भ्रष्टाचार नभएर जनप्रतिनिधिहरुले जनतासमक्ष गरेका प्रतिवद्धता समयमै पुरा नगर्नु पनि भ्रष्टाचार नै भएको भन्दै नगरबासीका सबैखालका अधिकारको लागि आफू प्रतिवद्ध रहेको बताए ।

इन्सेक पर्वत जिल्ला प्रतिनिधि किशोर सापकोटाका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले  पर्वतमा आयोजना गरेको राष्ट्रिय हस्ताक्षर कार्यक्रमा सबै खाले भ्रष्टाचारको विरोध तथा सदाचारप्रति प्रतिवद्धता जनाउँदै स्थानीय तहका जनप्रतिनिधि तथा जबाफदेही र जिम्मेवार निकायमा रहेको पदाधिकारीहरूले हस्ताक्षर गरेका छन् ।

बिहान १० बजेबाट प्रारम्भ भएको हस्ताक्षर कार्यक्रमको शुरुवात जिल्ला समन्वय समति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेले गरेका थिए । हस्ताक्षर गर्दै उनले भने-“सबैखाले भ्रष्टाचारको अन्त्यका लागि म आफू पूर्ण प्रतिवद्ध छु र मैले नेतृत्व गरेको निकायलाई पनि भ्रष्टचारमुक्त निकायको रूपमा स्थापित गराउने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।”

उक्त हस्ताक्षर अभियानमा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसाल, पर्वत जिल्लामा रहेका विभिन्न नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्षहरू र नागरिक समाजका जिम्मेवार व्यक्तिहरू तथा पत्रकारहरूले पनि हस्ताक्षर गरेका थिए ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु भन्ने नारासहित राष्ट्रिय हस्ताक्षर अभियान भदौ २३ गते पाल्पा तानसेनमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित गैरसरकारी संस्था महासङ्घ, इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल कपिलवस्तुको आयोजनामा भएको अभियानमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, उपमेयर लक्ष्मी पाठकसहित तानसेन नगरपालिका भित्रका वडा अध्यक्षहरू कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू सहित सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरू, जिल्ला स्थित राजनीतिक दलका नेताहरूलगायतले हस्ताक्षर गरी सहमति जनाए ।

हस्ताक्षर अभियानमा सहभागी हुँदै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले आफू सदाचारमैत्री रहने विश्वास दिलाए । उनले भ्रष्टाचारमैत्री गतिविधिहरूलाई जरैबाट उखेल्न सक्नुपर्नेमा जोड दिए । तानसेन नगरपालिकाका मेयर अशोकुमार शाहीले यस्ता अभियानहरुले भ्रष्टाचार न्यूनीकरणका लागि मद्धत गर्ने बताए ।

अन्य

भिडियो