जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै बझाङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ जनाले ०८० चैत २४ गते उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, बझाङले निर्धारण गरेको बेलुकी ५ बजेसम्मको समय भित्र राजनीतिक दल तथा स्वातन्त्र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित नाराजुलुस सहित उम्मेदवारी दर्ता गरेका हुन् ।

नेकपा एमालेबाट दमन बहादुर भण्डारी, नेपाली काँग्रेसबाट अभिषेकबहादुर सिह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिहले उम्मेदवारी दर्ता गराएका छन ।
यसैगरी राष्ट्रिय मातृभूमी पार्टीबाट विनोदबहादुर थापा, नेपाल मजदुर किसा पार्टीबाट खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तीमगर, राप्रपाबाट किशोरकुमार खडका र जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्री, नेपाल जनता दलबाट अशोक सुनार, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खडका र जनमत पार्टीबाट शुसीलादेबी विष्टले उम्मेदवारी दर्ता गर्नुभएको जिल्ला निर्वाचन कार्यालय, बझाङ्का मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनु भयो ।

नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि निर्वाचन आयोगले ०८१ वैशाख १५ गते उक्त क्षेत्रमा उपनिर्वाचनको घोषण गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन आचारसंहिता ०७९ को दफा १३ को घ मा जुलुस वा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह अकित झण्डा, लोगो, स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गाम्छा, ब्याज, माक्स वा लकेट लगाउन वा झोला बोक्न नहुने उल्लेख गरिएको भए पनि राजनीतिक दलले आचारसंहिता विपरित निर्वाचन चिन्ह्र अंकित झण्डा र लोगो सहित जुलुस सहित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका छन् ।


