INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्प प्रभावित क्षेत्रमा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण

जिल्लाको भुकम्प प्रभावित क्षेत्रमा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण भएका छन् । ३२ हजार ९ सय ९६ लाभग्राही कायम भएकोमा ३ हजार २ सय ३० अस्थायी आवास निर्माणको चरणमा छन् । भुकम्प गएको पाँच महिना वितिसक्दा सबै लाभग्राहीले अझै पनि अस्थायी आवास निर्माण गर्न सकेका छैनन् ।

अहिले सम्म पहिचान भएका लाभग्राहीको खातामा ७७ करोड ५५ लाख ५० हजार रुपियाँ रकम निकासा भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रबेश बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला विपत व्यवस्थापन कोषबाट स्थानीय विपत व्यवस्तापन कोषमा ८२ करोड ४९ लाख रकम पठाएको भए पनि सवै रकम खर्च हुन सकेको छैन ।

चौरजहारी नगरपालिकामा १५ करोड ६९ लाख ७५ हजार रुपियाँ, आठविसकोट नगरपालिकामा २४ करोड ३३ लाख रुपियाँ, मुसीकोट नगरपालिकामा ४ करोड १५ लाख रुपियाँ, सानीभेरी गाउँपालिकामा १४ करोड ९६ लाख २५ हजार रुपियाँ, त्रिवेणी गाउँपालिकामा ११ करोड ८१ लाख २५ हजार रुपियाँ र बाँफिकोट गाउँपालिकामा ६ करोड ६० लाख २५ हजार रुपियाँ रकम लाभग्राहीको खातामा निकासा भएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिनुभयो ।

चौरजहारी नगरपालिकामा ६ हजार २ सय ८९, आठविसकोट नगरपालिकामा ९ हजार ३ सय १३, मुसीकोट नगरपालिकामा १ हजार ३ सय ९३, सानीभेरी गाउँपालिकामा ६ हजार २ सय ५१, त्रिवेणी गाउँपालिकामा ४ हजार ६ सय ९२ र बाँफिकोट गाउँपालिकामा २ हजार ९सय ८३ ओटा अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालयका तथ्याङ्क अनुसार चौरजहारी नगरपालिकामा ६ हजार २ सय ७९ लाभग्राही कायम भएका छन् ।

त्यस्तै आठविसकोट नगरपालिकामा ९ हजार ७ सय ३२, मुसीकोट नगरपालिका १ हजार ६ सय ६०, सानीभेरी गाउँपालिकामा ५ हजार ९ सय ८५, त्रिवेणी गाउँपालिकामा ४ हजार ७ सय २५ र बाँफिकोट गाउँपालिकामा २ हजार ६ सय ४१ लाभग्राहीको खातामा रकम निकासा भएको छ ।

जिल्ला विपद व्यवस्थापन कोषमा ४० करोड रुपियाँ रकम आएको छ । पहिलो किस्ता पाएका र अस्थायी आवास निर्माण गरिसकेकाहरुको अनुगमन, पहिलो किस्ता पाउदा गरिएको सम्झौता लगायतको आधारमा स्थानीयतहबाट माग भै आएमा दोस्रो किस्ताको रकम पनि वितरण हुने जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले बताउनु भयो ।

अन्य

भिडियो