नरगपालिका क्षेत्रमा सञ्चालनमा रहेका ३२ ओटा सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको सुनश्चितता गर्न शुक्लाफाँटा नगरपालिकाले विद्यालय समायोजन र व्यवस्थापन कार्य सम्पन्न गरेको छ ।
शिक्षकहरु बढी भएको विद्यालयमा विद्यार्थी न्यूनरहेका र विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयमा शिक्षक सङ्ख्या कम भएकोले शिक्षामा सुधार तथा शैक्षिक गुणस्तर कायम गर्न विद्यालयहरु समायोजन गरिएको शुक्लाफाँटा नगरपालिकाका शिक्षा शाखा संयोजक टेकेन्द्रप्रसाद भट्टले बताउनु भयो ।
विद्यालय समायोजनसँगै शिक्षक दरबन्दी मिलानको काम पनि सम्पन्न गरिएकोले भौतिक पूर्वाधार निर्माण गर्न सहज हुने र शिक्षामा गुणस्तर बढाउन समेत मदत पुग्ने शिक्षा शाखा संयोजक भट्टको भनाइ छ ।
०८० चैत ५ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार न्यून विद्यार्थी सङ्ख्या भएका नगर क्षेत्रका चार ओटा विद्यालयहरुको तह समेत घटाएर समायोजन गर्ने कार्य अगाडि बढाइएको वडा नम्बर ९ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक रमेशबहादुर ऐरले बताउनु भयो ।
उहाँका अनुसार वडा नम्बर ७ शान्तीपुरस्थित शान्तीपुर आधारभूत विद्यालयलाई धर्म जनता माध्यमिक विद्यालय, स्टेशनपुर र वडा नम्बर १० स्थित त्रिमूर्ति आधारभूत विद्यालयलाई कृष्ण माध्यमिक विद्यालय, झलारीमा समायोजन गरिएको छ ।
यसैगरी मिलन आधारभूत विद्यालय, आन्द्रजालालाई शिवशक्ति माध्यमिक विद्यालय, कालागौडी र सरस्वती आधारभूत विद्यालय, चित्रपुरलाई सिद्धनाथ आधारभूत विद्यालय, बसन्तपुरमा समायोजन गरिएको छ ।
विद्यालय शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७७’ का आधारमा विद्यालय समायोजन तथा विद्यालयहरुको तह घटाइएको र विद्यालय सुधारको प्रयासलाई अगाडि बढाइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले बताउनु भयो ।
स्थानीय तहहरूले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालयहरू समायोजन गरिरहेको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका प्रमुख दीपकराज कलौनीले बताउनु भयो ।
विद्यार्थीहरूको सङ्ख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दुरीका हिसाबले टाँढा रहेका विद्यालयलाई समायोजना गर्ने कार्यले जनशक्ति व्यवस्थापन गर्न सहज हुने र शैक्षिक गुणस्तर सुधारमा समेत सघाउ पुग्ने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका प्रमुख कलौनीको भनाइ छ ।
यसअघि बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा पनि विद्यालय समायोजन कार्य सम्पन्न गरिएको छ । जिल्लामा कुल २ सय ५९ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।