१४ वर्षीया श्रमिक बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका मुकेशकुमार मण्डल ०८० चैत २१ गते हाजिर भएका छन् ।
घटनाको करिब ५ वर्षपछि हाजिर भएका आरोपितलाई जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले पुर्पक्षका लागि कारगारमा थुनामा पठाएको छ ।
सोही घटनाका अर्का आरोपित तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीका ३७ वर्षीय शिवशंकर मण्डललाई ०८० साउन २२ गते ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिवाना तिराउने, १ लाख रुपियाँ क्षतिपूर्ति भराउने र ६ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने सजाय भइसकेको छ ।
आरोपित शिवशंकर घटनाका बेला तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ्ग माध्यमिक विद्यालयका कार्यालय सहयोगी थिए भने मुकेश विद्यालय भवन निर्माणको रेखदेखको काम गर्ने मुन्सी थिए । आरोपितहरूले ०७६ असार १८ गते पीडितकै ३५ वर्षीया काकीको सहयोगमा बलात्कार गरेको भन्दै पीडितकी आमाले ०७६ असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले ०७६ असार २४ गते उजुरी दर्ता गरी आरोपित महिलालाई सोही दिन गिरफ्तार गरेको थियो । खोजी भएका बेला उपस्थित हुने गरी जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयबाट ०७६ साउन १५ गते गिरफ्तार आरोपित जमानतमा रिहा भएकी थिइन् ।
विद्यालयको प्राङ्ंगणमा निर्माण भइरहेको नयाँ भवनमा मजदुरी गर्ने बालिकालाई पारिश्रमिक दिने बहानामा राति अबेलासम्म राखेर नास्तासँगै दिएको स्प्राइटमा वाइन मिसाएर बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो । भवनको छत ढलानको काम सकिएपछि पारिश्रमिक माग्दा ठेकेदार चेक साटेर आउँदैछ भनी अबेलासम्म बसाई साँझ परे पछि घर फर्कन खोज्दा विभिन्न बहाना बनाई अल्मलाएर राखेको पीडितको भनाइ छ ।
पीडितका अनुसार पारिश्रमिक लिएर सँगै घर फर्कने विश्वास दिइ उनकी काकीले निर्माणको काम हेर्ने मुन्सी र कार्यालय सहयोगी बसेको माथिल्लो तलाको कोठामा लगी नास्ता पानी खाँदै गरौं, ठेकेदार आएपछि पैसा लिएर जाउँला भनी माछा र स्प्राइट खान दिइन् । करिब तीन करोड रुपैयाँको लागतमा निर्माण भइरहेको भवन निर्माणका लागि उनकी काकीले मजदुरी गर्न बालिकालाई पाँच दिनदेखि लिएर जाने गरेकी थिइन् । ‘काकीले आफू आमा जस्तै भएकी भन्दै विश्वास दिलाई राति अबेलासम्म राखी झुक्याएर मदिरा खुवाइन् बालिकाले भनिन्,’ उनकै योजनामा घटना भयो ।’
‘कोठामा विद्यार्थी पढने पाँचवटा बेञ्च जोडेर खाटजस्तो बनाइएको रहेछ, त्यही बस्न लगाइ माछा र चिसो स्प्राइट खान दिए’, पीडितले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा बताउनु भएको छ । ‘चिसो र गुलियो लाग्ने स्प्राइट चार–पाँच गिलास खाएपछि टाउको भारी भएर लडेको र ढोका लगाइ आरोपितहरूले बलात्कार गरेको कुरा भोलिपल्ट बिहान होसमा आएपछि छोरीले बताएको पीडितकी आमाले जानकारी दिनुभयो ।
मदिराले लठ्ठिएकै अवस्थामा बलात्कृत बालिकालाई राति १० बजे बर्साइन चोकमा ल्याएर आरोपितहरूले छाडेका थिए । बालिकालाई छाडेको देखेपछि गाउँलेसँगै रहेकी उनकी काकीले बेहोस बालिकालाई देवी भूत लागेको भनेर घर फर्काएकी थिइन् । उनले बालिकाको परिवारलाई समेत धामीलाई देखाउनुपर्ने भयो भन्दै खबर गरेको बालिकाकी आमाले जानकारी दिनु भयो । आफूले पनि सुरुमा उनको कुरामा विश्वास गरेको तर बिहान छोरी होसमा आएपछि उनले बताएको कुराले आफ्नै होस उडेको बालिकाकी आमाले बताउनु भयो ।
‘घटना लुकाउन महिलाले देवी–भूत लागेको भनेर राति भ्रमपूर्ण हल्ला फिजाएकी रहिछन्,’गस्तीमा रहेका प्रहरीले धामीकहाँ नभई अस्पताल लैजान सल्लाह दिएपछि राजविराजस्थित अस्पताल ल्यायौं, ’उहाँले बताउनु भयो ।
पीडित बालिकाकी आमासहित स्थानीयवासीले घटनाबारे सुरुमा प्रहरी चौकी कोईलाडी बरसाईनमा पुगेर जानकारी दिए । त्यसको दुई दिनपछि असार २२ गते पीडित पक्ष जिल्ला प्रहरी कार्यालय पुगेर मौखिक उजुरी गरे । पीडित पक्षले असार २३ गते लिखित उजुरी ल्याए पछि पाँचौ दिन राति १० बजे मात्र बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भयो ।
जल्ला सरकारी वकिल कार्यालयमार्फत ०७७ असार १७ गते जिल्ला अदालतमा अभियोगपत्र दायर भएको थियो । फरार रहेका आरोपितको हकमा मुद्दा मुल्तबी राखिएको थियो ।