महादेवा गाउँपालिका–५ की ४२ वर्षीया हिरादेबी अमातलाई कथित ‘बोक्सी’ भनी कुटपिट र अमानविय व्यवहार गरेको कसुरमा सोही ठाउँका ५४ वर्षीय छेदी सदा र निजका छोरा ३१ वर्षीय श्रीचन सदालाई ०८० चैत १६ गते कैद र जरिवानाको सजाय भएको छ ।
जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासबाट आरोपितहरुलाई ५ वर्ष कैद, ५० हजार रुपियाँ जरिवानाका साथै २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । फरार रहेकी छेदीका पत्नी ४७ वर्षीया फुलवादेबी सदाको हकमा मुद्दा मुल्तबीमा राख्ने अन्तिम निर्णय भएको अदालतले जनाएको छ ।
आरोपितहरुले ०७८ मङ्सिर २६ गते कथित ‘बोक्सी’ भनी गालीगलौज र कुटपिट गरेको भन्दै पीडितले पुस १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो । आरोपितको घरपरिवारका सदस्यहरु र गाइगोरु विरामी भएको दोष लगाई पीडितको घरकोठामा प्रवेश गरी तथानाम गालीगलौज र कुटपिट गर्दै दुबै हात समाती प्लाष्टिकको जगमा ल्याएको मलमुत्र आरोपितहरुले खुवाएको पीडितले बताउनु भयो ।
पीडितका अनुसार जोगाउन आएका उहाँका पति ४३ वर्षीय सञ्जय कुमार मण्डललाई समेत आरोपितहरुले दुबै हात समाती बोल्न कराउन नदिई फलामको रड, चुलेसीले प्रहार गरी घाइते बनाए । बेहोस भएका पीडित घाइतेहरुलाई धोइपखाली गरेर स्थानीयवासीले हनुमाननगर कंकालिनी नगरपालिकाको हनुमाननगरस्थित ज्वालामुखी उपचार केन्द्रमा भर्ना गरे । त्यहाँ उपचार हुन नसकेपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल र गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भयो । घाइते हिरादेबी र सञ्जयको पुस १ गते गजेन्द्रनारायण सिंह अस्पतालमा घाउँजाँच परीक्षण भयो ।
जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरे पछि पीडितले उच्च अदालत जनकपुर राजविराज इजलासमा ०७८ पुस १३ गते परमादेशका लागि उजुरी दिनुभयो । उच्च अदालत जनकपुर राजविराज इजलासबाट ०७८ चैत १६ गते परमादेश जारी भयो । अदालतले परमादेशको जानकारी ०७९ जेठ ४ गते जिल्ला प्रहरी कार्यालयमा दिएपछि पीडितको उजुरीको सनाखत ०७९ साउन ३ गते भयो ।
आरोपितहरु फेला नपरेको भन्दै प्रहरीले प्रतिवेदन बुझाएपछि ०७९ कात्तिक ३ जिल्ला अदालतमा अभियोग पत्र दायर भयो । अदालतले ०७९ मङ्सिर १८ गते आरोपितहरु विरुद्ध पक्राउ पुर्जी जारी गर्यो । जिल्ला अदालतमा हाजिर भएका आरोपित छेदी र श्रीचन ०७९ फागुन १६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।