INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश नं ७ का जिल्लाहरूमा भ्रष्टाचारविरूद्ध हस्ताक्षर अभियान

कैलाली जिल्ला इन्सेक प्रतिनिधि रविना चौधरीका अनुसार अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, एफएमडीसी, पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घको सयुंक्त आयोजनामा भदौ २३ गते धनगढी उमनपाका जनप्रतिनिधिहरूबाट भ्रष्टाचारविरूद्ध शुन्य सहनशीलतासम्बन्धी राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न भएको छ ।

Photo20170908Kailali

“म सबैखाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति प्रतिवद्ध रहने छु ।” भन्ने मूल नाराका साथ हरेक क्रियाकलापलाई जनसहभागितामूलक, जबाफदेही, स्वच्छ एवम् पारदर्शी र स्थानीय तहको सेवाप्रवाहलाई सेवाग्राहीमैत्री बनाउने उद्धेश्यले राष्ट्रिय हस्ताक्षर अभियान आयोजना गरिएको हो ।

नवनिर्वाचित जनप्रतिनिधि, नागरिक समाज, सञ्चार क्षेत्र समेतको रचनात्मक सहयोगमा धनगढी उमनपालाई अनियमितता र भ्रष्टचारमुक्त गर्नका लागि सबैले प्रतिवद्धता जाहेर गर्न आवश्यक रहेको इन्सेक क्षेत्रीय संयोजक खड्कराज जोशीले बताए ।

Photo20170908kailali1

स्थानीय तहको निर्वाचन मार्फत जनप्रतिनिधिको रूपमा निर्वाचित भई काम गर्न पाइएको अवसरमा जनताले महसुस गर्ने गरी इमान्दारिताका साथ काम गर्ने र सबै वडा अध्यक्ष तथा पदाधिकारीहरूलाई सेवाग्राहीमैत्री भएर काम गर्न लगाउने धनगढी उमनपाका प्रमुख नृप वडले प्रतिवद्धता व्यक्त गरे ।

भ्रष्टाचार विरूद्ध शुन्य सहनशीलतासम्बन्धी राष्ट्रिय हस्ताक्षर अभियानमा धनगढी उमनपाका प्रमुख, उमप्रमुख, १९ वटै  वडाका वडा अध्यक्ष र उमनपाका कर्मचारीहरूले हस्ताक्षर गरेका छन् ।

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार इन्सेक, कञ्चनपुर मानव अधिकार निगरानी समूह, नागरिक समाज, पत्रकार महासङ्घ र गैसस महासङ्घको आयोजनामा भदौ २३ गते कञ्चनपुरको महेन्द्रनगरमा भ्रष्टाचार विरूद्धको शुन्य सहनशीलताका लागि जनप्रतिधिहरूको हस्ताक्षर अभियान सम्पन्न भएको छ ।

Photo20170908kanchanpur

भिमदत्त नपाको सभाकक्षमा सम्पन्न भएको हस्ताक्षर कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख फैरू तामाङ, उपप्रमुख सानुमाया वुडथापा महरा, भीमदत्त नपाका उपप्रमुख शुशिला सिंहलगायत वडा अध्यक्ष र सदस्यहरूले भ्रष्टाचारविरूद्धको शुन्य सहनशीलता अभियानमा प्रतिवद्धता जनाउँदै हस्ताक्षर गरेका हुन् ।

Photo20170908Kanchanpur1

हस्ताक्षर कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख फैरू तामाङले मन्तव्य राख्दै भ्रष्टाचार नियन्त्रण गर्नका लागि शुन्य सहनशीलताका साथ अगाडि बढने प्रतिवद्धता गर्नुका साथै सम्पुर्ण जनप्रतिनिधिहरूलाई समेत भ्रष्टाचार नियन्त्रण गर्नका लागि शुन्य सहनशिलताका साथ अगाडि बढन आग्रह गरेका छन् ।

डडेल्धुरा इन्सेक सहजकर्ता कैलास पनेरूका अनुसार इन्सेक, गैर सरकारी संस्था महासङ्घ, नेपाल पत्रकार महासङ्घ, सञ्जिवनी नेपाल र नेपाल नागरिक समाज डडेल्धुराको संयुक्त आयोजनामा भदौ २३ गते जिल्ला सदरमुकाममा आयोजित ‘म सबैखाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय हस्ताक्षर अभियान कार्यक्रममा सहभागी भएर स्थानीय तहमा निर्वाचित जन प्रतीनिधिहरूले हस्ताक्षर गरेर प्रतिवद्धता व्यक्त गरेका छन् ।

Photo20170908Dadeldhura

कार्यक्रममा अमरगढी नपाका प्रमुख विश्वेश्वर प्रसाद ओझा, जिल्ला समन्वय समितिका उपप्रमुख रत्ना कामी, नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्ट, वडा अध्यक्ष, सदस्य, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि गरी ४० जानाले हस्ताक्षर गरेका छन् ।

सङ्कलित हस्ताक्षर आज नै, डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइएको छ ।

अन्य

भिडियो