INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीमा २ वर्ष ६ महिनाको अवधिमा ३९ जना आमाको मृत्यु,बालबालिका पनि कुपोषित

तातोपानी गाउँपालिका – ७ ताम्ती गाउँकी २२ वर्षीया अंगीता रावतकी छोरी २२ महिनाकी आयुसा रावत कुपोषित भएपछि फागुन ५ गते पोषण सुरक्षा केन्द्र लिताकोटमा भर्ना गर्नुभयो । उहाँकी छोरी पोषण सुरक्षा केन्द्रमा भर्ना हुँदा २२ महिनाकी ७ केजी तौल, उचाई ७८ सेन्टिमिटर र पाखुराको नाप ११ दशमलव ४ सेन्टिमिटर रहेको थियो । पोषणको दृष्टिकोणले स्वास्थ्यकर्मीका अनुसार उहाँकी छोरी जोखिममा छन् । २२ महिनाकी कुपोषित छोरी, त्यसैमाथि आमा अंगीता ८ महिनाको गर्भवति हुनुहुन्छ ।

यस्तै तातोपानी गाउँपालिका – ८ टोप्लाकी २५ वर्षीया चन्द्रा शाहीको पनि समस्या उस्तै छ । उहाँको एक वर्षको बच्चा ६ केजी मात्रै तौल छ । उहाँकाे बच्चासहित पोषण सुधार केन्द्रमा हप्ता दिन बसेपछि १२ सय ग्राम तौल बढ्यो । पोषणमा केही सुधार भएपछि हप्ता दिनपछि घर फर्किनु भयो । ग्रामीण भेगका महिला धेरैजसो घरयासी काम मेलापात, खेतीपातीमा बेस्त हुन्छन् । बच्चालाई कुपोषण भयो भन्ने चिन्ता भन्दा पोषण सुधार केन्द्रमा हप्ता दिन बस्दा घरको सबै काम गर्न पाएन भन्ने बढी पीर हुन्छ । नहोस पनि कसरी ! काम गरेरै जिविकोपार्जन गर्नुको विकल्प पनि त छैन ।

अंगिता र चन्द्रा जस्तै बच्चा कुपोषण भएको २५ जना आमा बच्चासहित पातातोपानी गाउँपालिकाको तिलाकोट स्थित पोषण सुधार केन्द्रमा भर्ना भए ।  फागुन ७ गतेदेखि पोषण सुरक्षा केन्द्र सञ्चालनमा आएदेखि २५ जना आमा र बच्चाले सेवा लिएका छन् । पोषण सुरक्षा केन्द्रका अध्यक्ष स्वास्थ्यकर्मी परिनन्द गिरीका अनुसार तातोपानी गाउँपालिकामा–८ ओटा वडा छन् । यिनै वडा मध्ये भेरीखोलामा ७ र ८ दुई ओटा छन् । त्यही भेरीखोलाबाट धेरैजसो कुपोषित बच्चाहरु पोषण सुरक्षा केन्द्रमा भर्ना भएका छन् । उहाँहरु हप्ता – १० दिनमा पोषणमा सुधार आएपछि घर फर्किने गरेका छन् ।
बालबालिकाको पोषणमा सुधार ल्याउनका लागि डब्लुएचओको मापदण्डअनुसार बच्चाको खानपानमा ध्यान दिनुपर्ने स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताउनु भयो ।

बालबालिकाको पोषणमा सुधार ल्याउनका लागि तातोपानी गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष रेवती रावलले बताउनु भयो । ‘गाउँघरमा बाल बच्चाको खानपानमा ध्यान दिने गरिएको पाइदैन । जसका कारण बालबालिकालाई कडा कुपोषण हुने गरेको छ,’ उहाँले भन्नुभयो, ‘यस्तै, समस्यालाई मध्यनजर गर्दै जनतासँग उपाध्यक्ष कार्यक्रमको पाँच लाख रुपियाँ बजेट सहयोग गरेर पोषण सुरक्षा केन्द्र सञ्चालनमा ल्याइएको हो ।’

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार पोषण सुरक्षा केन्द्र सञ्चालनमा आएदेखि २५ जना आमा र बच्चाले सेवा लिएको देखिन्छ । ‘पालिकाले बजेट पनि खर्च गरेको छ । अहिले सुरुवात गरेको छौं,’ उहाँले भन्नुभयो, ‘काम गरेपछि परिवर्तन देखिनु पर्दछ ।’

२ वर्ष ६ महिनाको अवधिमा ३९ जना आमाको मृत्यु

कर्णाली प्रदेशभर अढाई वर्षमा ३९ जना आमाको मृत्यु भएकाे छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा मातृमृत्यु सङ्ख्या १७ जना रहेको छ । आर्थिक वर्ष ०७९/०८० मा १६ जना रहेको छ । २०८० पुससम्म ६ जना आमाको मृत्यु भएको तथ्याङ्क रहेको छ ।

त्यस्तै, कम तौल भएका दुई वर्षमुनिका बालबालिकाको सङ्ख्या आर्थिक वर्ष ०७८/०७९ मा ४.१ रहेको थियो । आर्थिक वर्ष ०७९/०८० मा ३.६ रहेको विवरण सार्वजनिक गरिएको छ । त्यस्तै, आर्थिक वर्ष ०८०/०८१ को पुस मसान्तसम्म २.७ प्रतिशत बालबालिका कम तौल भएको पाइएको छ ।  नवजात मृत्यु सङ्ख्या आर्थिक वर्ष ०७८/०७९ मा दुई जना रहेको थियो । आर्थिक वर्ष ०७९/०८० मा शून्यमा झरेको तथ्याङ्कमा देखाएको छ । त्यस्तै, आर्थिक वर्ष ०८०/०८१ को पुस मसान्तसम्म ६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले बताउनु भयो ।

पाँच वर्षमुनिको मृत्यु सङ्ख्या ०७८/०७९ मा १० जना, आर्थिक वर्ष ०७९/०८० मा आठजना र ०८०/०८१ मा पुस मसान्तसम्म जम्मा १० जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

Photo20240328Jumla

अन्य

भिडियो