नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतको न्यूरो सेवा तीन हप्तादेखि प्रभावित भएको छ ।
विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा. निलम खड्का काजमा ट्रमा अस्पताल काठमाण्डौंमा फर्किएपछि न्यूरो सेवा प्रभावित भएको हो । छ महिनाका लागि मन्त्रालयले खटाएका खड्का स्वतस्फुर्त रुपमा साढे दुई वर्ष बढी प्रदेश अस्पतालमा बस्नुभएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले ०८० भदौ १७ गते न्युरोलोजिस्ट डा.ओमबिक्रम शाह, डा. प्रभात झा, डा. सुतप यादव र डा. चित्रराज शर्मालाई कर्णाली प्रदेश अस्पताल, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो । जसमध्ये पहिलो ६ महिना डा. प्रभात र डा. चित्रराज प्रदेश अस्पतालमा हाजिरी भएर गइसक्नुभएको छ । अहिले प्रभात नारायणी अस्पताल पर्सामा हुनुहुन्छ भने चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत हुनुहुन्छ । तर पहिलो ६ महिना नारायणी अस्पताल पर्सामा हाजिरी भएका डाक्टरद्धय ओमबिक्रम र सुतप यादव भने हालसम्म प्रदेश अस्पताल सुर्खेतमा हाजिरी हुनुभएको छैन । जसका कारण अस्पतालको न्यूरो सेवा प्रभावित भएको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले बताउनुभएको छ । डा. खडकाका अनुसार उनीहरूको अनुपस्थितीका कारण प्रदेश अस्पतालले तीन वर्षदेखि दिँदै आएको न्यूरो सेवा प्रभावित भएको छ ।
‘तीन हप्ता अगाडी उहाँहरू आइसक्नुपथ्र्यो । मैले फोन गरेर पनि समन्वय गरें । तर उहाँहरूले बेवास्ता गर्नुभयो । त्यसपछि अस्पताल विकास समिति र मसहितको टोली गएर मन्त्रीज्यूलाई भेटेर पनि अनुरोध गयौं,’ डा खडकाले भन्नुभयोे, ‘ मन्त्रालयको शाखाले पठाएको पत्रअनुसार उहाँहरू फागुन १७ गतेभित्र प्रदेश अस्पतालमा हाजिरी हुनुपर्ने हो तर हालसम्म पनि हाजिरी हुनुभएको छैन । उहाँहरूको अटेरीको कारण यस अस्पतालको न्यूरो सेवा पूर्णरुपमा प्रभावित भएको छ ।’
उहाँका अनुसार दैनिक २५ जना ओपिडी र तीन जनाको सङ्ख्यामा सघन अप्रेसन गर्न समस्या भएको छ । ‘दैनिक हुने सडक दुर्घटना र अन्य न्यूरोको उपचार गर्न बाहिर पठाउनुपर्ने अवस्था आएको ’निर्देशक खड्काले जानकारी दिनुभयो ।
कामकाज गर्न खटाइएको पत्रमा भनिएको छ ‘प्रस्तुत विषयमा यस मन्त्रालय ( सचिवस्तर) को २०८० भदौ १२ को निर्णयानुसार देहाय बमोजिमको विशेषज्ञ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलबाट विशेषज्ञ चिकित्सकमा दर्ता भएको प्रमाण–पत्र प्राप्त भएपछि सोहीअनुसार हुनेगरी हाललाई ‘सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२’ अनुसार उहाँहरूले अध्ययन गर्नुपूर्व गर्नुभएको कबुलियतनामा अनुसार तहाँ अस्पतालमा आलोपालोगरी कामकाज गर्न खटाइएको व्यहोरा अनुरोध छ ।’
अप्रेसनको पालो तीन महिनापछि
बराहताल गाउँपालिका– ८ की ३४ वर्षीया निर्मला आले राना ०८० फागुन ११ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जानुभयो । जचाउँदा उहाँलाई पित्तथैलीमा पत्थरी देखियो । एउटा १० एमएल र अर्को १८ एमएलका पत्थरी छन् । जसका लागि अप्रेसन गर्नुपर्ने भयो । तर, अस्पतालले उहाँको ०८१ जेठ १३ गते मात्रै पालो दियो । अहिले पित्तथैलीको अप्रेसनका लागि पालो कुरिरहेकी रानालाई दिनप्रतिदिन बिरामीले च्याप्दै गएको छ ।
‘आजभोली एकदमै पेट दुख्न थालेको छ । खान मनपनि लाग्दैन, ’उहाँले भन्नुभयो, ‘तीन महिनासम्म कसरी कुर्ने होला । बाहिर जाउँ भने आर्थिकले भ्याउँदैन ।’
राना मात्रै होइन, अस्पतालमा आउने पत्थरी, स्पाइनल इन्जुरी, हेड इञ्जुरी लगायतका बिरामी लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यतामा छन् ।
प्रदेश सरकार र संघीय सरकारको सहयोगमा विशेषज्ञ सेवासहितको तीन सय शैयाबाट सेवा दिइरहेको छ । ३ सय २५ जनाको स्थायी दरबन्दी रहेको अस्पतालमा १ सय ६६ जना स्थायी पदपूर्ति र ३ सय ५२ जना विभिन्न करारबाट स्वास्थ्यकर्मी, कर्मचारी गरी जम्मा ५ सय १८ जना रहेका छन् ।

