INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्प पीडितबाट सहयोग स्वरुप रकम असुल्दै वडा कार्यालय

सरकारले भूकम्प पीडितका लागि अस्थायी आवास निर्माणमा दिएको रकम मध्येबाट नलगाड नगरपालिकाको ३ नम्बर र ७ नम्बर वडा कार्यालयले सहयोग स्वरुप लाभग्राहीबाट रकम असुल्न थालेपछि भूकम्प पीडित मर्कामा परेका छन् ।

विद्यालय, स्वास्थ्य, सार्वजनिक भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गर्न नलगाड नगरपालिकाको ३ नम्बर वडा कार्यालयले प्रति व्यक्ति भूकम्प पीडितबाट एक हजार, सोही नपाको ७ नम्बर वडा कार्यालयले प्रति व्यक्ति पाँच सय रुपियाँ सहयोग स्वरुप उठाउन थालेपछि भूकम्प पीडित मर्कामा परेका हुन । नलगाड नगरपालिका वडा नम्वर ३ ले अस्थायी आवासको दोस्रो किस्ताबापत रकम लिन वडा कार्यालयमा पुगेका भूकम्प पीडितसँग सहयोग रसिदमार्फत रकम उठाएको छ । सर्वदलीय बैठकमा रकम नउठाउने भनी विरोध भएतापनि वडा कार्यालयले रकम उठाएको नेपाली काङ्ग्रेसका सहसचिव छवि पन्तले आरोप लगाउनु भएको छ । भूकम्प पीडितले आवास निर्माणका लागि दोस्रो किस्ता रकम पाउन नलगाड नगरपालिकाको ३ नम्बर वडा कार्यालयबाट एक हजार रुपियाँको रसिद अनिवार्य काट्नु पर्नेछ ।

यसैगरी नलगाड नगरपालिका वडा नम्वर ७ ले पनि दोस्रो किस्ता रकम पाउन अनिवार्य सहयोग रसिद काट्नुु पर्ने निर्णय गरेको छ । वडा नम्वर ७ ले प्रति व्यक्ति पाँच सय रुपियाँको रसिद काट्ने गरेको छ । भूकम्पबाट आवास विहिन भएका पीडितको घरबास बनाईदिनुको साटो सरकारले दिएको रकममा वडा कार्यालयले सहयोग स्वरुप रकम असुल्नु कार्य राम्रो नभएको नेपाली काङ्ग्रेसका सहसचिव छवि पन्तले बताउनु भयो ।

हालसम्म दोस्रो किस्ता रकम लिएका ३८ जना लाभग्राहीले सम्बन्धीत वडा कार्यालयमा सहयोग स्वरुप रसिद काटेको पाइएको छ । नलगाड नगरपालिका–३ का प्रेमराज थापाका अनुसार वडा कार्यालयबाट एक हजार रुपियाँको सहयोग रसिद नलिएसम्म अस्थायी आवासको दोस्रो किस्ता रकम नदिने भनेपछि अवास निर्माणका लागि रकम लिन रसिद काटेको गुनासो गर्नु भयो । भूकम्पले घरबास विहिन भएपछि विचल्लीमा परेका नागरिकलाई सहयोग नगरी उल्टै रकम असुल्दा पीडामा पीडा थपेको अर्का स्थानीय भूकम्प पीडित हरिबहादुर बुढाले गुनासो गर्नु भएको छ । अस्थायी आवास निर्माणमा लागेको ऋण कसरी तिरौ भन्ने अवस्थामा पुगेका भूकम्प पीडितलाई रकम तिर्न बाध्य पारिएको छ । भूकम्पले नाना, खाना र आवास नपाएका नागरिकले सरकारबाट पाउने रकमबाट वडा कार्यालयले रसिद काट्न थालेपछि नेपाली काङ्ग्रेस र नेकपा एमालेले विरोध जनाएका छन् । सर्वदलीय बैठकमा उपस्थित भएपनि प्रति भूकम्प पीडितसँग १ हजार रुपियाँ उठाउने विषयको विरोधगर्दै हस्तक्षर नगरी असहमति जनाउदा पनि वडा कार्यालयले मनपरी गरेको नेपाली काग्रेसका वडा सभापति रतिमान थापाले आरोप लगाउनु भएको छ । नेकपा एमाले वडा कमिटि अध्यक्ष धनबहादुर थापाले वडा अध्यक्ष कौशिबहादुर विष्टले मनोमानी तरिकाले नागरिकबाट रकम असुल्न थालेपछि आपत्ति जनाएका छन् ।

नलगाड नगरपालिका–३ का वडाअध्यक्ष कौशिबहादुर विष्टले स्वास्थ्य चौकीको जग्गा प्रयाप्त नभएपछि जग्गा खरिद गरि भवन निर्माण गर्न नागरिकबाट सहयोग लिएको प्रतिकृया दिनु भएको छ । संस्थाले जग्गा भए भवन बनाई दिने भनेपछि प्रति भूकम्प पीडितसँग १ हजार रुपियाँ सहयोग स्वरुप उठाउन थालिएको हो ।

रकम उठाउने विषयमा आफूलाई जानकारी नभएको नलगाड नगरपालिकाका प्रमुख डम्वरबहादुर रावतले बताउनु भएको छ । नेपाली काङ्ग्रेसका सहसचिव छवि पन्तले पालिका स्तरीय सर्वदलीय बैठकमा रकम असुल्ने विषयमा छलफल भएको थियो हामीले विरोध गरेपछि पालिकाले नउठाउने निर्णय गरेपनि वडा कार्यालयले विभिन्न बहानमा रकम असुल्न थालेका छन् । भूकम्प पीडितका अस्थायी आवासका लागि सरकारले दिएको रकम नागरिकले चुस्तदुरुस्त रुपमा पाउनु पर्ने नेपाली काङ्ग्रेसका सहसचिव पन्तले बताउनु भयो । सरकारले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापत २५ हजार, दोस्रो किस्ता वापत २५ हजार गरी जम्मा ५० हजार रुपियाँ दिएको छ ।
20240226Jajarkot

अन्य

भिडियो