छायाँनाथ रारा नगरपालिका-२ स्थित ससुराली मन्दिर नजिक ना.ख.४६९२० नम्बरको बस चालक २९ वर्षीय हिक्मत राना क्षेत्री र भे.१ज.३०१३ नम्बरको बोलेरो जीपका चालक ३० वर्षीय तिलक थापालाई छायाँनाथ रारा नगरपालिकाका ३४ वर्षीय प्रमुख विष्णुकुमार भाम, विष्णुका २८ वर्षीय भाइनरेश भाम र २८ वर्षीय दिलिपकुमार भाम लगायतले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
बस र जीपको ०८० चैत्र ९ गते बिहान चालक माथि हातपात र धम्की दिएर गाडीकाे चावी थुतेर लगेपछि यातायात समितिले सवारी साधन र बाटाे बन्द गराउँदा बिरामी लगायत अन्य यात्रुहरुलाई समस्या भएकाे छ ।
आफू बिरामी रहेको र उपचारका लागि काठमाडौं जान लागेको तर यसरी दिनभरी बसलाई रोक्दा बीचमा अलपत्र पर्दा गाह्रो भएको बिरामी यात्रु ६० वर्षीया पाल्जोमा लामाले बताउनु भयो। अर्का १३ वर्षीय बालक नेपालगन्ज उपचारका लागि जान लागेको तर गाडी नचल्दा समस्यामा परेकाे बताउनुभयो ।
त्यसै गरी,आज नै जुम्ला पुगेर आफ्नो छोराको अदालतको मुद्दाको काममा पुग्नु पर्ने थियो तर गाडीबाट यात्रु झारेर फिर्ता लिदा आफू अलपत्र परेको अर्का यात्रु दिन बहादुर नेपालीले बताउनु भयो ।
आफू बिरामी भएको कारण भोलि नेपालगन्ज जान लागेको तर बीच बाटोमा नै बस नगरपालिकाले फिर्ता गरेको कारण बीच बाटोमा अलपत्र परेकाको यात्रु सिंह बहादुर कुमाईले गुनासो गर्नुभयो ।
नगरपालिकाले पटक पटक सवारी साधन तत्काल बसपार्कमा लैजाने सम्बन्धी सूचना गर्दा पनि सूचनालाई बेवास्ता गरेको कारण गाडी रोक्न बाध्य भएको नगर प्रमुख विष्णु कुमार भामले बताउनु भयो।
नगर प्रमुखको टोलीले आफ्नो समितिकाका चालक माथि हातपात गरेकोले कानुनी कारबाही नभएसम्म छाँयानाथ यातायात प्रालि का सवारी साधन नचल्ने यातायात समितिका सचिव बसन्त शाहिले जानकारी दिनुभयो । नगरपालिकाको सूचना आफूलाई जानकारी नै नभएका समेत उहाँले बताउनुभयो ।
आज विहानदेखि नै बाटो बन्द भएको जानकारी पछि तत्काल यातायात समितिलाई नै बाटो खोल्न र यातायात सुचारु गर्न निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

