सरकारले मातृ मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ ल्याइएको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत सिमकोट गाउँपालिका–७ चौगनफयाका सुत्केरी आमाले पाउने सेवा सुविधा गत साउन महिनादेखि नपाएको गुनासो गरेका छन् ।
०८० साउन महिनादेखि पुस महिनासम्म चौगनफया सामुदायिक स्वास्थ्य इकाईमा सुत्केरी भएको हालसम्म पाँच जना महिलाले गर्भजाँच गराए बापतको रकम नपाएको सुत्केरी सीता शाहीले गुनासो गर्नु भएको छ ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भजाँच गराएको आठ पटकको ३ हजार र प्रदेश सरकारले गाउँपालिका मार्फत उपलब्ध गराउँदै आएको २ हजार गरी ५ हजार रुपियाँ नपाएको सुत्केरी प्रमिला शाहीले गुनासो गर्नु भयो ।
वडा कार्यालयले उक्त रकम निकासा नगरेको आफुले स्वास्थ्य इकाईमा सुत्केरी हुँदै आएका सुत्केरी आमालाई उक्त रकम दिन नसकेको स्वास्थ्य इकाईका निमित्त प्रमुख जानबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाले आमा सुरक्षा कार्यक्रमको बजेट वडाको खातामा पठाइसकेको भएपनि वडाले भुक्तानी नगरी दिदा सरकारले दिएको सुविधा पाउनबाट ती सुत्केरी आमाहरू वञ्चित भएका हुन् ।
स्वास्थ्य इकाइमा सुत्केरी भएका प्रति महिलाले ५ हजार पाउने गरेका छन् । इकाईमा सुत्केरी भएका महिला दैनिक जसो रकम माग गर्दै कार्यालयमा पुगेपनि वडाले निकासा नगरी दिँदा दिन नसकिएको निमित्त प्रमुख शाहीको भनाइ छ ।
शाहीले भन्नुभयो, “सामुदायिक स्वास्थ्य इकाइले ६ महिनादेखि प्रशासनिक खर्च समेत पाउन सकेको छैन् । गाउँपालिकाले वडाको खातामा रकम जम्मा गरी दिएपनि साउनदेखि भुक्तानी निकासा रोकिदा प्रशासनिक खर्च नभएर कामकाजमा समस्या भएको छ । पटक पटक वडा अध्यक्षलाई भुक्तानी निकासा गरिदिन आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको हो । ”
वडाध्यक्ष बलविर शाहीका अनुसार, स्वास्थ्य इकाई सञ्चालन भइरहेको जगा स्थानीय जग्गाधनी ओबजन शाहीले स्वास्थ्य इकाईको नाममा नामसारी नगरी दिँदा उक्त सुविधा रोकेको जानकारी दिनुभयो । जग्गाधनी ओबजन शाहीले २०६९ सालमा जग्गाको मूल्य १ लाख ५० हजार रुपियाँ लिइ सकेर पनि जग्गा पास नगरी दिँदा रोकिएको वडाध्यक्षको भनाइ छ । केही दिन गाउँमा गएर
जग्गाधनीसँग बसेर जग्गा स्वास्थ्य संस्थाको नाममा नामसारी गरी दिएपछि निकासा गर्ने वडाध्यक्ष शाहीले बताउनुभयो ।
जग्गाको मुल्य जग्गाधनीले लिएपछि नामसारी नगरिदिँदा रोकेको छ । सुत्केरी आमाले स्वास्थ्य संस्थामा गर्भजाँच गराएको उक्त रकम केही दिनमा निकासा हुने वडाध्यक्ष शाहीले बताउनुभयो ।