गुलरिया नगरपालिका–४ मा रहेको मध्यपरिश्चम विश्वविद्यालय अन्तर्गत बबई बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्ष तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । क्याम्पसमा पढाउँदै आएका आंशिक प्राध्यापकहरूले करार हुनुपर्ने माग राख्दै फागुन २० गतेबाट तालाबन्दी गरेका हुन् ।
प्राध्यापकहरूले पहिलो चरणको आन्दोलन स्वरुप क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको बताएका छन् भने चैत १ गते पठनपाठन नगराउने भन्दै दोस्रो चरणका आन्दोलनको पनि घोषणा गरेका छन् ।
बबई बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेन्द्रप्रसाद धितालले विश्वविद्यालयले लिखत र मौखिक परीक्षा लिएर सबै प्रकृया पुरा गरेर दैनिक ज्यालादारीको विश्वविद्यालयले नियुक्ति दिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पढेलेखेका शिक्षकलाई आंशिक रूपमा कार्यरत छन् । जसले गर्दा शिक्षकको वृद्धि विकासमा असर पुगेको छ । दैनिक जीवनयापन गर्न समस्या भएको छ ।
निवर्तमान उपकुलपति डा. नन्द्र बहादुर सिंहले कार्यकाल रहँदा प्राध्यापकहरूले आफ्नो माग सुनुवाई हुनेमा आश गरेर बसेको बताउनु भयो । कार्यकाल सकिने बेला बसेको अन्तिम बैठकले पहुँचका भरमा केही प्राध्यापकलाई मात्र नियुक्ति भए जसका कारण बाध्य भएर प्राध्यापकहरूले तालाबन्दी गर्नु परेको उहाँले उल्लेख गर्नुभयो ।
प्राध्यापकहरूको माग सम्बोधन गराउने उदेश्यले पठनपाठन सुचारु रहने गरी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको र यो तालाबन्दीमा सम्पूर्ण प्राध्यापकहरूको ऐक्याबद्धता रहेको उपप्राध्पापक धितालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘तालाबन्दी भएको ११ दिन हुदाँसम्म पनि कहिकतैबाट मागको सुनुवाई नहुने देखेपछि दोस्रो चरणको आन्दोलन स्वरुप पठनपाठन बन्द गरिएको हो ।’
क्याम्पसमा भएको तालाबन्दीले क्याम्पसमा रहेको २३ जना स्थायी प्राध्यापक, पाँच जना करारका प्राध्यापक, सात जना आंशिक प्राध्यापक, सात जना कर्मचारी, पाँच जना कार्यालय सहयोग, दुई जना सुरक्षा गार्ड हाजिर गर्नबाट वञ्चित भएका छन् । त्यसैगरी स्नातक तह दोस्रो, पाँचौँ र सातौँ सेमेस्टरको परीक्षा फारम भर्ने अन्तिम मिति चैत्र ४ गतेसम्म रहेको छ ।
क्याम्पसमा हुने यस्ता आन्दोलनले विद्यार्थीको पठनपाठनमा असर परेको सातौँ सेमेस्टरमा अध्ययनरत अर्जुन बाल्मिकीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘विद्यालयमा हुने आन्दोलन लगायत अन्य गतिविधिले पाठ्यक्रम पुरा नहुने भएकोले विद्यार्थीले पढाई कमजोर हुने गरेको छ । परीक्षा आउँदा प्राध्यापकहरूले एकमुष्ठ छिटो पाठ्यक्रम पुरा गर्न धेरै पढाउँदा पनि समस्या हुने गरेको छ । प्राध्यापकहरूको आन्दोलनको माग पुरा गरेर छिटो क्याम्पस प्रमुख कार्यकक्षमा लागेको तालाबन्दी खुलेर पठनपाठन वातावरण तयार हुनुपर्छ ।’
बबई बहुमुखी क्याम्पस स्नातक तह चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी एवम् स्ववियु सदस्य कौशल सापकोटाले क्याम्पस प्रमुखको कार्यकक्षमा भएको तालाबन्दी हुदाँ नियमित हुने पठनपाठनमा असर परेको बताउनु भयो । उहाँले भन्नुभयो,‘आन्दोलनले गर्दा सरहरू नियमित जस्तो छलफल गर्ने हुदाँ नियमित कक्षा सञ्चालन नहुने, पाठ्यक्रम पुरा नहुँदा परीक्षामा समेत असर पर्ने गरेको छ । शिक्षक जायज मागको सुनुवाई भएर पठनपाठन नियमित हुन जरुरी रहेको छ ।’
बबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख वीरेन्द्रराज लम्सालले प्राध्यापकको माग सुनुवाई गराउन क्याम्पस प्रशासनले विश्वविद्यालयसँग आग्रह गरेको बताउनु भयो । उहाँले भन्नुभयो,’विश्वविद्यालयले क्याम्पसको प्राध्यापकको पढाउने विषयको समय तालिका र कार्य विभाजन विश्वविद्यालयले माग गरेको छ । सो समय तालिका र कार्य विभाजनको पत्र सहित विश्वविद्यालयमा पत्र पठाएपछि निकास आउने विश्वास छ ।’
मध्यपरिश्चम विश्वविद्यालयको फागुन १३ गते बसेको बैठकले उपकुलपति, रजिष्ट्रर लगायतका पहुँचका आधारमा केही दैनिक ज्यालादारीको प्रध्यापकहरू करार भएपछि उनीहरू आन्दोलनमा आएका हुन् ।
विश्वविद्यालय २०७७ चैत्र ४, ५ र ६ गते लिएको लिखित र मौखिक परीक्षा दिएर पास भएपछि चैत्र ७ गते नियुक्ति लिएर क्याम्पसमा पढाउन आएको प्राध्यापकहरू बिकास न्यौपाने, गजैसिंह कार्की, लोकेन्द्र वली, सिद्धराज पाध्याय र कृष्ण धिताल रहेको क्याम्पस प्रमुख लम्सालले बताउनु भयो ।
उनीहरूले क्याम्पस प्रशासनले आंशिक शिक्षकलाई वर्षमा दुई पटक मात्र पारिश्रमिक दिने र आंशिक शिक्षकहरूको दैनिक कार्यमा ओभर लोड हुँदा समेत करारको प्रकृया अगाडि बढाउन पहल नगरेको र बाध्य भएर तालाबन्दी गरेको प्राध्यापकहरूको भनाई छ ।