त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाटका ५८ वर्षीय लल्कु चौधरी ज्वरो, टाइफाइट र दमका कारण ०८० फागुन २१ गते जिल्ला अस्पताल भर्ना हुनु भयो । उहाँलाई स्वास्थ्कर्मीहरूले स्वास्थ्य जाँचपड्ताल गरी औषधि लेखिदिए । दमका बिरामी भएका कारण लल्कुलाई अक्सिजन समेत दिनुपर्ने थियो ।
तर, जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्ट बिग्रिएको कारण ६ महिनादेखि प्रयोगविहीन अवस्थामा रहेको र बाहिरबाट ल्याइएको अक्सिजन समेत सकिएका कारण लल्कुलाई जिल्ला अस्पतालमा राखिराख्नु खतरा थियो । विपन्न परिवारका लल्कुलाई अक्सिजनकै अभावमा ज्यान जोगाउन मुस्किल पर्यो । जसोतसो त्रियुगा नगरपालिकाको एम्बुलेन्समा उहाँलाई कोशी अस्पताल, विराटनगर पुर्याइयो ।
त्रियुगा नगरपालिका-२ मोथीयाइका ६१ वर्षीया मिथिला चौधरी ज्वरो र निमोनियाका कारण ०८० फागुन २४ गते जिल्ला अस्पतालको इमरजेन्सीमा भर्ना हुनु भयो । उहाँलाई पनि अक्सिजनकै आवश्यकता थियो । तर अस्पतालका स्वास्थ्यकर्मीहरूले अक्सिजन सकिएको भन्दै विराटनगर लैजान विरामीका आफन्तलाई सुझाए । उहाँलाई तत्काल विराटनगर लगियो ।
दुई महिनायता जिल्ला अस्पतालमा बिरामीको चापका कारण बेड र अक्सिजन अभावमा धेरैलाई बाहिर पठाइएको छ । कोभिड-१९ को समयमा प्रदेश सरकारको ७२ लाख रुपियाँ लागतमा निमार्ण गरिएको अक्सिजन ०७९ फागुनमा बिग्रिएयता प्रयोगविहीन छ । जसको मर्मतका लागि न प्रदेश सरकारको ध्यान पुगेको छ, न त स्थानीय सरकारको नै ।
अक्सिजनकै अभावमा विरामीलाई अन्यत्र लैजानुपरेको बिरामीका आफन्तहरूको गुनासो छ । ‘केही समय ढिला भएको भए आमाको अवस्था जे पनि हुने थियो, धन्न विराटगनर पुर्याइयो ढुक्क भयोे,’ मिथिला चौधरीका छोरा श्यामु चौधरीले भन्नुभयो । ‘अस्पताल प्रशासन, अस्पताल व्यवस्थापन समिति, नगरपालिका लगायतलाई जिल्ला अस्पतालको अक्सिजन प्लाण्ट विग्रिएको र मर्मतका विषयमा पटकपटक ध्यानाकर्षण गराएका छौं, तर समस्या उस्तै छ,’ मानव अधिकारकर्मी माया भण्डारीले भन्नुभयो ।
अक्सिजन प्लाण्टको बिग्रिएको सामान फेर्न ७ लाख रुपियाँ लाग्ने र चीनबाट ल्याउनुपर्ने भएकाले मर्मत नगरिएको अस्पतालका प्रशासनको भनाइ छ । अक्सिजन प्लाण्टको क्षमता थप गर्न ५० लाख भन्दा बढी खर्च लाग्ने र पुरानो मर्मत गर्न समेत महङ्गो भएकाले बाहिरबाटै अक्सिजन ल्याएर काम चलाउने गरिएको अस्पतालका प्रशासन प्रमुख योगेश्वर खनालले बताउनु भयो ।
उहाँका अनुसार यातयात खर्च बाहेक प्रतिसिलिण्डर ३ सय ५० का दरले बेलका नगरपालिकाको रामपुरमा रहेको ‘अक्सिजन प्लान्ट’ बाट ल्याउने गरिएको छ । बिग्रिनुभन्दा पहिले जिल्ला अस्पतालको प्लाण्टबाट दैनिक ५-६ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो ।
अक्सिजन प्लाण्ट मर्मत गरी सञ्चालनका लागि प्रदेश सरकारलाई लेखेर पठाएकोमा आश्वासन मात्र पाएको तर अहिलेसम्म काम नभएको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले बताउनु भयो ।
अक्सिजन प्लाण्ट सञ्चालन, अस्पतालको भौतिक पूर्वाधार निमार्ण र कर्मचारी व्यवस्थापनका लागि जिल्लाका सबै स्थानीयहरूलाई आर्थिक सहयोगका लागि अनुरोध गरिएको अध्यक्ष विश्वकर्माले बताउनु भयो । अक्सिजन प्लाण्टका मर्मतका लागि त्रियुगा नगरपालिका बाहेक कुनै स्थानीय तहबाट सहयोग नपाएको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माको भनाइ छ ।