रसुवा कारागार भवन मर्मत अभावमा जीर्ण बनेको छ । भूकम्पका कारण क्षति भए पनि सामान्य मर्मत गरेर जस्तापाताले बारेर बनाइएको कारागार भवन पुनर्निर्माण नहुँदा जिर्ण भएको हो । १ सय ३० जना क्षमता भएको ‘ङ’ श्रेणीको जिल्ला कारागारमा अहिले ८६ जना रहेका छन् ।
साँगुरो कोठा रहेको र व्यवस्थित भवन नहुँदा कैदीबन्दीहरू टिनले छाप्रामा बस्दै आएका छन् । कारागारमा ८१ जना बन्दी र कैद नतोकिएका पाँच जना थुनुवा गरी जम्मा ८६ जना रहेका छन् ।
जसमा महिला कैदीबन्दीको सङ्ख्या पाँच जना रहेका भने एक जना ज्येष्ठ नागरिक छन् । यहाँ शौचालय प्रयोगका लागि समेत पालो कुर्नुपर्ने अवस्था रहेको छ ।

कैदीबन्दीका आफन्तजनलाई भेटघाट गर्ने राम्रो ब्यवस्था छ । कारागारमा खानेपानी, पत्रपत्रिका, रेडियो, टेलिभिजन, खेलकुदका सामग्रीमा भलिबल र क्यारम वोर्डको व्यवस्था छ । २०३३ सालमा निर्माण भएको यस कारागारको तीन ओटा मध्ये पुरुष बस्ने दुई भवन मर्मत अभावमा जीर्ण बनेका हुन् ।
कारागार व्यवस्था विभागमा भवन पुनर्निर्माणको विषयमा प्रस्ताव गरेको तर बजेट पर्याप्त नभएकोले यसवर्ष टेण्डर हुन सकेन थप बजेट विनियोजन भए आगामी वर्ष पुननिर्माण हुने जेलर शैलेश देवकोटाले बताउनुभयो ।
कारागारमा कैदी बन्दीको नियमित स्वास्थ्य परीक्षणका लागि एक जना सिनियर अहेबको दरबन्दी रहेकोमा सो अनुसार स्वास्थ्यकर्मी ब्यवस्था भएपछि सामान्य उपचारका लागि सहज भएको छ । कारागारमा बासका मुढा, ज्याकेट बनाउने र उत्पादित बस्तु बिक्री गर्ने ब्यवस्था छ ।
इन्सेक प्रतिनिधिसँगको कुराकानीमा कारागार प्रमुख देवकोटाले कारागार भवन जिर्ण र टिनको टहरामा कैदी बन्दै राख्नु पर्ने हुँदा समस्या भएको बताउनुभयो । अन्यत्रबाट सरुवा भएर आउने बन्दीहरूको चाप बढेको छ ।
‘बन्दी धेरै हुँदा खानेपानी र सुत्नका लागि कोठाको समस्या भएको कारागारमा ‘अन्यत्रबाट बन्दी सरूवा भएर आउने क्रम बढेपछि यो वर्ष क्षमता भन्दा बढी बन्दी भएका हुन् ।’