सोरु गाउँपालिका – ९ कालैमा अवस्थित श्री विजय माध्यमिक विद्यालयकोे नयाँ भवनमा फागुन २० गते देखि तालाबन्दी हुँदा पढाइ प्रभावित भएको छ । भवनमा तालाबन्दी भएपछि पढाइ प्रभावित सँगै विद्यार्थीहरु भत्किएको र जीर्ण भएको भवनमा बसेर अध्ययन गर्न बाध्य भएका छन् ।
गाउँपालिकाले अनुदान स्वरुप १० लाख बजेटमा दुई तले भवन ४ कोठाको मर्मत गर्न लगायो । मर्मत पश्चात् ३ लाख ३० हजार रुपियाँ दियो तर ६ लाख ७० हजार रुपियाँ पालिकाले भुक्तानी गर्न ढिलाइ गरेपछि ८० जना कामदार सहित निर्माण समितिले तालाबन्दी गरेको निर्माण समितिका अध्यक्ष पार्वती योगीले बताउनु भयो ।
८० जना कामदार मध्ये ४८ देखि ६४ दिन सम्म काम गरेको तरे ३ महिना वितिसक्दा पनि मर्मत बजेट नआउदा ताला बन्दी गर्न परेको कामदार भक्ति प्रसाद चौलागाईंले जानकारी दिनुभयो ।
नयाँ भवनमा तालाबन्दी गरेर आफूहरुलाई पुरानो तथा जीर्ण भवनमा अध्ययन गर्नु परेकोे कक्षा ८ मा अध्ययनरत छात्रा उब्जा लक्ष्मी मल्लले बताउनुभयो । कक्षा कोठा व्यवस्थित नभएको कारण सरहरुले पनि अध्यापनमा आनाकानी गर्ने गरेको कक्षामा अध्ययनरत छात्र बसन्त शाहीले गुनासो गर्नु भयो ।
विद्यालयमा अरु थप भवन नहुँदा भवनकाे समस्या भएर पठनपाठनमा समस्या भएकाे छ । कोठा नभएको कारण भत्किएको भवनको कोठामै विद्यार्थीहरुलाई अध्यापन गर्न बाध्य भएको सोही विद्यालयका शिक्षक रामुनाथ योगीले बताउनु भयो । जोखिम मोलेर नै विद्यार्थीलाई पठनपाठन गराउदै आइरहेको उहाँको भनाइ छ ।
गाउँपालिकालाई पटक पटक अनुदानको रकम पठाउनको लागि अनुरोध गरेको तर जिम्मेवार निकायले सुनावाइ नै नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बिटालुले जानकारी दिनुभयो । विद्यालयको भवन तालाबन्दी हुँदा विद्यार्थीको पढाइ मात्र प्रभावित नभएर परीक्षा सञ्चालन गर्न समेत कोठा अभावले ठुलो समस्या आउने उहाँले बताउनु भयो ।
तालाबन्दी गरेको आफूलाई थाहै नभएको र इन्सेक जिल्ला प्रतिनिधि मार्फत जानकारी पाएको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ राज शाहीले बताउनु भयो । यस समस्याको समाधानको लागि छिट्टै पहल गर्ने र चैत्र महिनाको पहिलो हप्तामा भित्र भुक्तानी प्रकृया अगाडि बढाउने उहाँले बताउनु भयो ।
