सुनकोशी गाउपालिका–४ यमुनाडाँडाँका ५६ वर्षीय धनबहादुर खड्काले जातीय विभेद विरुद्ध ०८० फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्नु भएको छ ।
जेठो छोराले दलित महिलासँग बिवाह गरेको भन्दै सुनकोशी गाउँपालिका–४ का गोविन्दप्रसाद पौड्याल र ध्रुवप्रसाद पौड्यालले ०८० फागुन १८ गते दाजुभाइको घरमा भएको बिवाह तथा भोजभतेरमा जान बन्देज लगाएको, सार्वजनिक पधेरामा पानी लिन बन्देज लगाएर सामाजिक बहिष्कार गरेको आरोपमा खड्काले प्रहरीमा उजुरी दिनु भएको हो ।
सो विषयमा वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष समेतलाई घटनाको जानकारी गराएर समस्या समाधान गर्न अनुरोध गर्दा समेत समाधान नभएकाले न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिएको पीडित धनबहादुर खड्काले बताउनुभयो ।
यस अघि दलितसँग बिवाह गर्ने डम्बरबहादुर खड्कालाई गाउँले दाजुभाई जम्मा भएर गाउँमा बस्न नपाउने भन्दै ०८० माघ ८ गते गाउँ निकाला गरेका थिए । छोराले दलित बिवाह गरेको भन्दै बावुलाई दलितको आरोप लगाउन हुँदैन भनेर सम्झाएर पठाएको भए तापनि समस्या समाधान नभएको सुनकोशी गाउपालिका–४ का वडा सचिव गोरख खड्काले बताउनुभयो ।