बुढिगंगा, बडिमालिका र बुढीनन्दा नगरपालिकाले ग्रामीण क्षेत्रमा बसोबास गर्दै आउनुभएका स्थानीयहरुको स्वास्थ्यमा पुहँच अभिबृद्धि गर्ने उद्धेश्यले ०८० फागनु २७ गतेदेखि लागु हुनेगरी इस्मार्ट हेल्थ सेवा सञ्चालनमा ल्याएको छ ।
बुढिगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकी, बडिमालिका नगरपलिका–७ स्थित चुथी स्वास्थ्य चौकी र बुढिनन्दा नगरपालिकाको पाण्डुसेन स्वास्थ्य चौकीमा फागुन २७ गतेदेखि इस्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको छ ।
संविधानको मौलिक हक अन्तर्गत व्यवस्था गरिएको स्वास्थ्यको अधिकारलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न र स्वास्थ्य सेवालाई गुणस्तर बनाइ स्थानीय नागरिकहरुको स्वास्थ्यमा पहुँच स्थापित गर्न इस्मार्ट हेल्थ टेली मेडिसिन सेवा सञ्चालनमा ल्याइएको बडिमालिका नगरपालिका वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्यायले बताउनु भयो ।
स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमता वृद्धि र आधुनिकीकरण गर्न, स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाउन स्मार्ट हेल्थ सेवा सञ्चालनमा ल्याएएको र यसले वडामा रहेका गरिब तथा बिपन्न नागरिकको स्वास्थ्य अधिकारको सुनश्चित गर्ने वडाध्यक्ष पाध्यायको भनाइ छ ।
‘डिजिटल हेल्थ’ माध्यमबाट नागरिकको स्वास्थ्यलाई मध्यानजर गरी सेवालाई सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउन स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको बुढिगंगा नगरपालिकाका उपप्रमुख नन्दा थापाले बताउनु भयो ।
चिकित्सक सेवाको पहुँच बाहिर रहेका दुर्गम क्षेत्रका अतिगरिब तथा विपन्न समुदाय र विकट क्षेत्रका नागरिकलाई लक्षित गरी टेलि हेल्थ सेवा मार्फत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन टेलि हेल्थ सेवा सञ्चालन गरिएको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले बताउनु भयो ।
उहाँले भन्नु भयो–हप्ताको दुई दिन अनिवार्य र प्रत्येक दिन आकस्मीक रुपमा सेवा दिने गरी स्मार्ट हेल्थ कार्यक्रम सुरु गरिएको छ । मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवा सुधार गर्न बहिरंग सेवा दिने र बाल स्वास्थ्यमा बिशेष ध्यान दिने गरी सेवा सञ्चालन गरिएको हो । बिरामीको अवस्था र प्रकृति हेरेर सम्बन्धीत स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले चिकित्सक तथा विशेषज्ञसँग परामर्श तथा उपचार सेवा दिन सकिने गरी स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन गएिको छ ।
स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिंदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने उद्देश्यका साथ चुथि स्वास्थ्य चौकीमा सेवा सञ्चालन गरिएको डाक्टर महेन्द्र श्रेष्टले बताउनु भएको छ ।
नेपालको संविधानको मैलिक हक अन्र्तगत धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, उपधारा (२) मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने र उपधारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने उल्लेख गरिएको भए पनि जिल्लाका दुर्गमबस्तीका नागरिकहरु आधारभूत स्वास्थ्य अधिकारबाट समेत वञ्चित हुँदै आएका छन् ।