बागलुङ नगरपालिका– ८ को सिगाना लामिचौरका २ सय घरका परिवार वर्षौदेखि खानेपानीको समस्या झेलिरहेका छन् ।
यहाँका २ सय घरका परिवार मिलेर बनेको लामिचौरको दलित बस्तीमा पानी पुर्याउन २०७७ साल माघमा लिफ्ट खानेपानी आयोजना सुरु गरिएको थियो
तीन वर्षमा सक्ने गरि सुरु गरिएको आयोजना बजेट अभावमा अलपत्र परेपछि घर–घरमा धारा र पानीको सपना देखेका यहाँका स्थानीय फेरि निरास भएका छन् ।
गण्डकी प्रदेश सरकारको सबै नागरिकको घरमा खानेपानीको धारा पुर्याउने योजना अनुसार लिफ्ट मार्फत काठेखोला गाउँपालिकाको पानी बागलुङ नगरपालिकाको लामिचौर पुर्याएर वितरण गर्ने योजना बनाएपनि बजेट अभावमा उक्त आयोजनाको २५ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
प्रर्याप्त बजेट भएको भए यतिबेला यहाँका स्थानीयको घर घरमै धारा हुन्थ्यो, धारामा पानी हुन्थ्यो, वर्षाैदेखिको खानेपानीको चरम समस्या समाधान हुन्थ्यो, तर गत वर्षदेखि आयोजनाका लागि बजेट आएको छैन् निर्माण सुरु गरिएको रिजर्व ट्याङ्की यहाँका स्थानीको पानीको सपनासँगै अलपत्र परेको छ ।
यहाँका २ सय दलित परिवारको पानीको समस्या समाधानका लागि ४ करोड ९३ लाख रुपियाँको डिपिआर तयार गरेर लिफ्ट आयोजना सुरु गरिएको थियो ।
तर, अघिल्लो वर्षदेखि आयोजनाका लागि बजेट विनियोजन नहुँदा आयोजना सम्पन्न हुनेमै शंका लागेको स्थानीय सुर्यबहादुर विश्वकर्माको भनाई छ ।
लामिचौरको दलित बस्ती बागलुङ नगरपालिकाको सबैभन्दा बढी सुख्खाग्रस क्षेत्रमा पर्छ । चार करोड माथीको लिफ्ट खानेपानी आयोजनाको लागि वर्षमा १० लाखका दरले बजेट आउदा काम गर्न समस्या भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी संजय कोइरालाको भनाई छ । कोइरालाका अनुसार हाल सम्म उक्त खानेपानी योजनामा जम्मा ५३ लाख ८४ हजार बजेट खर्च भएको छ ।
प्रदेश सरकारले थोरै बजेट पठाउदा समस्या भएको उहाँको भनाई छ । गत वर्षदेखि आयोजनाको काम रोकिएको भन्दै उहाँले यस वर्ष विनियोजन भएको १० लाख रुपियाँ पनि गत वर्षकै भुक्तानी गर्न बाँकी रहेकाले यो वर्ष काम गर्न नसकिने बताउनु हुन्छ ।
कोइरालाका अनुसार आयोजनाको काठेखोला गाउँपालिका– ७ खानीदुलोमा ट्याङ्की, विद्युत घर र बागलुङ नगरपालिका– ८ लामिचौरमा रिजर्व ट्याङ्की निर्माण भएको छ ।
यहाँका २ सय घर परिवारले २०५० सालभन्दा पहिले निर्माण भएका २ ओटा धाराबाट बाँडी चुडी पानी प्रयोग गर्दै आएका छन् । यहाँका महिलाको दैनिकी पानीको जोहो गर्दै बित्ने गरेको स्थानीय मुना विश्वकर्माको भनाई छ ।
बागलुङ नगरपालिकाका गाउँमा एक–घर एक धारा बनिसक्दा यहाँ भने छनौट भएर काम अघि बढेको आयोजना बजेट अभावमा अलपत्र परेको लामिचौर दलित बस्ती लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर कार्कीको भनाई छ ।
