गढवा गाउँपालिका–६ स्थित ज्ञानज्योती इङ्गलिस बोर्डिङ स्कुलको बसमा अज्ञात पक्षले फागुन २५ गते राती आगजनी गरेको छ ।
बस चालक अर्जुन योगीले फागुन २३ गते विद्यार्थीहरूलाई घर छाडेर गढवा गाउँपालिका–२ स्थित आफ्नै घरको आगनमा पार्किङ गरी राखेको लु १ क ५३३५ नम्बरको बसमा अज्ञात पक्षले आगजनी गरेको विद्यालयका प्रिन्सिपल दिपककुमार यादवले जानकारी दिनुभयो ।
बस चालक र परिवार घरमा सुतिरहेको मौका छोपेर आगजनी गरिएको र छिमेकीले बसमा आगजनी भएको भन्दै जानकारी दिएपछि इलाका प्रहरी कार्यालय गढवामा खबर गरिएको थियो ।
दमकलबाट आगो नियन्त्रण गरिएपनि बस जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय, गढवाका इन्स्पेक्टर नविन वलीले जानकारी दिनु भयो ।
विद्यालयका प्रिन्सिपल यादवले घटनाको छानविनको माग गर्दै फागुन २६ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको बताउनु भयो ।
आगजनीबाट १२ लाख रूपियाँ बराबरको क्षति भएको र आगजनीबारे अनुसन्धान भइरहेको वलीले बताउनु भयो ।