INSEC Online

📅 २०८३ जेष्ठ २१

स्रोतसाधनमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड

महिलामाथि हुने हिंसाका घटना कम गर्न स्रोतसाधनमा महिलाको पहुँच बढाउनुपर्नेमा ललितपुरमा फागुन २४ गते आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले जोड दिएका छन्।

अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त रूपमा आयोजना गरेको ‘महिला तथा बालिकामाथि हुने हिंसा न्यूनीकरण’ सम्बन्धी अन्तर्क्रियामा सहभागीले सो विषयमा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार र न्यायिक प्रक्रियाबारे समाजमा सचेतना फैलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले घरपरिवार र आफन्तबाटै महिला र बालिका पीडित हुने गरेका घट्ना सार्वजनिक भएकामा चिन्ता व्यक्त गर्नु भयो ।

2

कार्यक्रममा मानव अधिकार आयोगकी सदस्य लिली थापाले विभेद अन्त्य गर्न महिलाको हातमा शक्ति पुर्‍याउनुपर्ने बताउनु भयो । उहाँले महिलाको क्षमता र दक्षता बढाउन लगानी गर्नुपर्नेमा जोड दिनु भएको छ । आयोगका सदस्य मनोज दवाडीले साधनस्रोतमा महिलाको पहुँच बढाउनुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले पीडितको संरक्षणमा संवैधानिक आयोगहरूले ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले पीडित महिला र बालिकासँग सम्बन्धित घटनाबारे जानकारी दिँदा गोपनियतालाई ध्यान दिनुपर्नेमा सो हुन नसकेको बताउनु भयो ।

‘पीडितको नाम ठेगाना त गोप्य राख्नु पर्नेमा फोटो नै सार्वजनिक हुँदा पीडित र पीडितका परिवारलाई थप पीडा हुन्छ । यतातिर सरोकारवाला सबैको ध्यानाकर्षण गराउँछु ।’-अध्यक्ष अर्यालले भन्नु भयो ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले समाज सुधारका लागि महिला अधिकार प्रभावकारी हुने बताउनु भयो । कार्यक्रममा सन् २०२३ मा इन्सेकले अभिलेख गरेका महिला र बालिका पीडित भएका घटनाका तथ्य र तथ्याङ्कबारे जानकारी गराइएको थियो ।

1

सन् २०२३ मा बेचबिखन तथा ओसारपसारका घटनामा ३० जना, बेचबिखन तथा ओसारपसार प्रसासका घटनामा २५ जना, घरेलु हिंसाका घटनामा ४ हजार ९ सय ६३ जना, ‘बोक्सी’को आरोपका घटनामा २५ जना, बलात्कारका घटनामा ६ सय ५१ जना, बलात्कार प्रयासका घटनामा १ सय ५२ जना, यौन दुर्व्यवहारका घटनामा ५४ जना महिला पीडित भएको अभिलेख भएको इन्सेकले फागुन २४ गते जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२३ मा १ हजार ४ सय ४६ जना बालिका पीडित भए । जसमध्ये बलात्कारका घटनामा १ हजार २ जना, यौन दुर्व्यवहारका घटनामा ३ सय ७३ जना, बेचबिखन तथा ओसारपसारका घटनामा ४३ जना र बाल विवाहका घटनामा २८ जना बालिका पीडित भएको अभिलेख भएको कार्यक्रममा जानकारी दिइएको छ ।

‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ १ सय १४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । हरेक वर्ष मार्च ८ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्सेकले जारी गरेको प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोला

photo20240307kathmandu2

photo20240307kathmandu7

photo20240307kathmandu3

photo20240307kathmandu4

photo20240307kathmandu5

photo20240307kathmandu6

अन्य

भिडियो